नेभिगेशन
सशस्त्र प्रहरी

कपिलवस्तु सीमा क्षेत्रका युवा भन्छन्-सशस्त्र प्रहरीले दिएको सीपको स्वदेशमै सदुपयोग गर्छौ

कपिलवस्तु । देशको सीमा सुरक्षा लगायत जनतालाई शान्ति सुरक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरी बलले 'सीमावासीसँग सशस्त्र प्रहरी' कार्यक्रम अन्तर्गत कपिलवस्तुमा विभिन्न कार्यक्रम गरेको छ।

जसअन्तर्गत रोजगारी प्रदान गर्ने उदेश्यका साथ सशस्त्र प्रहरी बल नं.२८ गण कपिलवस्तुले सीमा क्षेत्रका विपन्न समुदायका युवाहरुका लागि कपाल काट्ने तालिमको आयोजना गरेको हो। 

१० दिनसम्म चलेको उक्त कपाल काट्ने तालिममा जिल्लाभरका स्थानीय तहमध्ये ६ वटा स्थानीय तह अन्तर्गत २६ वडाका दर्जनौं युवाहरु सहभागी भएको सशस्त्र प्रहरी नं.२८ गणले जानकारी दिएको छ। सशस्त्र प्रहरी बल नं.२८ गणका अनुसार तालिमका लागि युवाहरुको छनौट जिल्लाभरका बिओपीको समन्वयमार्फत गरिएको थियो।

सीमावासी र सशस्त्र प्रहरीको सम्बन्धका साथै सहकार्य बढाउँदै बेरोजगार युवाहरुहरुलाई स्वदेशमै रोजगार सृजना गर्न यो तालिमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नं. २८ गणका प्रमुख एसपी रामजङ्ग पाण्डेले बताए।

तालिममा सहभागी भएर सीप सिकेका सबैजसो युवाहरुले सशस्त्र प्रहरीको कार्य प्रशंसा गर्दै आफ्नो सीप खेर जान नदिने र यो सीप स्वदेशमै सदुपयोग गर्ने बताए।

सशस्त्र प्रहरी कपिलवस्तुले सोही अभियान अन्तर्गत सयौं विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको जनाएको छ। 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्