दाङ । दाङस्थित दंगीशरण गाउँपालिका-२ कौवाघारीका २५ बर्षीय प्रेमबहादुर कुसारीको मृत्यु प्रकरणको रहस्य प्रहरीले सार्वजनिक गरेको छ। सिकार खेल्न गएका प्रेमबहादुरको पछाडि बन्दुक बोकेर हिडिरहेका साथी लडेपछि गोली लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङमा घटनाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलमा जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले माघ ३ गते अपरान्ह ४ बजेतिर तीन जना साथीहरु जंगलमा हिडेर गइरहेका थिए। सबै भन्दा पछाडि २७ बर्षीय पुष्प बस्नेत, बीचमा २२ बर्षीय छबिलाल डाँगी र सबै भन्दा अगाडि मृतक २५ बर्षीय प्रेमबहादुर कुसारी हिडिरहेका थिए ।
लोड गरेको बन्दुक बीचमा छबिलालले बोकेको थिए । तर, हिड्ने क्रममा बाटोमा उनी ढुँगामा चिफ्लिएर लड्न पुगे । त्यही क्रममा उनको हातबाट बन्दुक झर्दै गर्दा पड्कियो ।
बन्दुकको गोली (छर्राहरु) अगाडि हिडिरहेका प्रेमबहादुरको दुबै तिघ्रा, घुँडामा लाग्यो । छबिलालले बोकेको बन्दुक मृतक प्रेमबहादुरकै हो भन्ने बयान पक्राउ परेकाहरुले गरेका छन् । प्रहरीले यो बिषयमा थप अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।
प्रेमबहादुर लडे । संगै गएका दुई साथीहरु आत्तिए । तीन जना मिलेर सुरुमा घाँस काट्ने र घर फर्किने क्रममा कालिज मार्ने योजनासहित बन्दुक बोकेर जंगल पसेका थिए । उनीहरु दौडिएर आइ गाउँ र घर परिवारलाई प्रेमबहादुर रुखबाट लडेको भनिदिए । तुरुन्त घाइते अवस्थाका प्रेमबहादुरलाई तुलसीपुर बजारस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो ।

मृतक प्रेमबहादुर
त्यहाँ उपचार हुन सकेन र उनलाई बाँकेको भेरी अस्पतालका लागि रिफर गरियो । शुक्रबार राति उनको उपचारका क्रममा त्यही मृत्यु भयो । कारण उनको अत्यधिक रक्तश्राब भइ सकेको थियो ।
घटना पछि दुबै जना फरार भइ सकेका थिए । छबिलाललाई बाँकेको कोहलपुरबाट शनिबार दिउँसो र पुष्प बस्नेतलाई दाङको तुलसीपुर बजार क्षेत्रवाट शनिबार बेलुकी पख प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरु पक्राउ परेपछि बयानका आधारमा स्थानीय जंगलमा फालेको अवस्थामा एउटा भरुवा बन्दुकपनि प्रहरीले बरामद गरेको थियो । त्यसअघि शुक्रबार भेरी अस्पतालमा पोष्टमार्टम पछि प्रेमबहादुरको शब घर ल्याइएको यिथो ।
अन्तिम संस्कारको तयारीमा गाउँ घर जुटि सकेको थियो। तर, उनको गोली लागेर मृत्यु भएको खबर पछि प्रहरीले अन्तिम संस्कार रोकेको थियो ।
शनिबार फेरि प्रहरीले शबको दोस्रो पटक पोष्टमार्टमका लागि प्रेमबहादुरको शब बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पु¥याएको थियो । दुबै खुट्टाको तिघ्राको चिरफार गर्दा गोलीका छर्राहरु पनि फेला परेका थिए ।