पाल्पा । पाल्पास्थित रामपुर क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाएका इलाका प्रहरी कार्यालय रामपुर इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम बहादुर नेपालीले जिल्लाकै उत्कृष्ट कर्मचारी घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पा मातहतको इलाका प्रहरी रामपुरका इन्स्पेक्टर नेपाली उत्कृष्ट कार्य गरेकै कारण जिल्ला प्रहरी कार्यालय पाल्पाले पुस महिनाको 'पुलिस अफ द मन्थ' घोषित गरेको हो।
पाल्पा जिल्लाको गत पुस महिनाको 'पुलिस अफ द मन्थ' बनेका इन्स्पेक्टर नेपाली संगठनले दिएको काम र कर्तव्यलाई सांगठनिक नीति निर्देशन बमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदिय दायित्वलाई ईमान्दारी कर्तव्यनिष्ठ एवं प्रशंसनिय ढंगबाट सम्पादन गरेकोले उत्कृष्ट कर्मचारी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
निडर र इमानदार स्वभावका इन्स्पेक्टर नेपालीले २०८१ पुस २५ गते राती साढे १० बजेको समयमा जिल्लास्थित रम्भा गाउँपालिका-१ भवरमा केही व्यक्तिहरुले सडकमा आवतजावत गर्ने सवारी साधनलाई रोकेर कानून विपरितका कार्य गर्दै गरेको सूचना पाएर तत्काल घटना स्थलमा पुग्दै दाउरा लोड भएको लु २ ख ६३६५ नं. को ट्रक रोकिराखेको घटनामा संलग्न ४ जनालाई पक्राउ गरेका थिए।
उक्त घटनामा मुख्य नाइके रम्भा गाउँपालिका- १ अमिलेका मिलन दर्जीसहितमो ४ जनाले ट्रक रोकेर अभद्र व्यवहार गर्दौ रकम माग गरेको अवस्थामा उनीहरुले इन्स्पेक्टर नेपालीले पक्राउ गर्न सफल भएका थिए।
अर्को घटनामा पुस ११ गते पाल्पा रामपुर नगरपालिका- ८ बस्ने स्कुल जाने क्रममा बेपत्ता भएकी पूजना श्रेष्ठलाई कालिगण्डकी नदीमा डुवेको अवस्थ्मा नेपालीले मृत फेला पारेको जिल्ला प्रहरी पाल्पाले जानकारी दिएको छ।
त्यसैगरी इन्स्पेक्टर नेपालीले समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत १० वटा कार्यक्रमहरु संचालन गर्दै ट्राफिक नियम विपरीत सवारी चलाउने ८७ वटा सवारीसाधनबाट ७६ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको पाल्पा प्रहरीले जानकारी दिएको छ।
इन्स्पेक्टर नेपालीले पाल्पा प्रहरीको फरार सूचीमा रहेका दुई जना फरार प्रतिवादी पक्राउ गर्न सफल रहेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ। उनले दर्जनौं जुवाडे पक्राउ गर्दै ठुलो परिमाणमा लागुऔषध पनि बरामद गरेका छन्
