काठमाडौं । सशस्त्र प्रहरीले आफ्नो ‘२४औं स्थापना दिवस २०८१’को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी 'प्रमुख' सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आज आयोजित विशेष समारोहमा आईजीपी अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउँदै संगठनका संस्थापक आईजीपी स्व. कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। आईजीपी अर्यालले कर्तव्य पालनाको सिलसिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।
उनले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रमहरु संचालन गर्दै आईरहेको चर्चा गर्दै अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका स्थानीय सर्वसाधारणहरुलाई जिम्मेवार र जवाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी अर्यालले आफू स्वयम् नैतिक रुपमा चरित्रवान भई व्यावसायिकता र असल आचरणको नमुना प्रस्तुत गर्न सकेमा मात्र संगठन बलियो हुने बताउँदै संगठनका सम्पूर्ण सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीले यहि कुरा हृदयगमन गरी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।
उनले निर्देशन दिदै भने-'हामीमा अभाव छ भन्दैमा आफ्नो कर्तव्यबाट विचलित र विमुख हुने छुट कसैलाई छैन, संगठनमा नीति छ, विधि छ, पद्धती छ, यसलाई सबैले मनन गरी प्रणाली र पद्धतीलाई आत्मसाथ गरी हामी सबै कर्तव्यपथमा लाग्नुपर्छ भन्ने भावना लिएर अगाडी बढ्नुपर्छ।'
"संगठनका हरेक सदस्यले हिम्मत गरेपछि गर्न नसक्ने भन्ने केही पनि हुँदैन सामुहिक प्रतिवद्धता नै हामी सबैको ठुलो शक्ति हो, व्यक्तिको जित भएर संगठनको हार भए व्यक्ति हावी भई संगठनको प्रगती नहुने" बताउँदै आईजीपी अर्यालले अभाव र सिमिताको बीचपनि संविधान र मातृभूमिको सुरक्षार्थ अनुकुलतामा नरमाएर पनि प्रतिकुलतामा लडेर कर्तव्य निर्वाहमा लाग्नुपर्ने बताए ।
अर्यालले संगठनका सबैले चेनअफ कमाण्डको मर्मलाई कायम राखी संगठनमा निष्ठानवान, आर्थिक अनुशासन, ईथिकल गभरमेन्टको दृष्टान्तको स्थापना होस भन्ने हाम्रो सोच, सदिक्षा र मान्यतालाई सबैको साथ र सहयोगले पुरा गर्नुपर्ने निर्देशन दिएका हुन्।