नेभिगेशन
सशस्त्र प्रहरी

गृहमन्त्रीले भने- सशस्त्र प्रहरी जवानलाई १६ वर्षमै अवकाश हुने प्रावधान ल्याउँदैछौं

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपाल को कानूनमा समावेश हुने बताएका छन् ।

आज काठमाडौँस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश घोषणा गरे । 

उनले सम्पूर्ण अधिकृतदेखि जवानहरू समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको उल्लेख गरे । उनले आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानूनी स्थिरतामार्फत थप प्रभावकारी, व्यावसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरामा जोड दिइरहेको बताए । सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रूपमा संसद्मा दर्ता गर्ने बताए । 

गृहमन्त्री लेखकले भने, ‘म गृहमन्त्रीको जिम्मेवारीमा आइसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानूनी स्थिरतामार्फत थप प्रभावकारी, व्यावसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरालाई जोड दिँदै आएको छु । सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सबै साथीहरूको सहयोगमा सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रूपमा संसद्मा दर्ता गर्ने सबै तयारी भइ अन्तिम रूप हामीले दिइसकेका छौँ । हामी केही दिनमा सम्बन्धित विधेयकलाई सङ्घीय संसद्मा दर्ता गर्नेछौँ । सम्पूर्ण अधिकृतदेखि जवानहरू समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको छ । लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश गरिनेछ । यो कुरा आजको विशेष दिनमा सशस्त्र प्रहरी बल नेपालका सक्कल दर्जाको अगाडि राख्न पाउँदा खुशीको अनुभव गरिरहेको छु ।’

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताए । सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई सङ्गठनले प्राथमिकतामा राखी कार्य सञ्चालन गरिरहेको बताए । हालसम्म नेपालले मर्मत गर्नुपर्ने २ हजार ३०८ वटा सीमा स्तम्भहरूको मर्मत तथा रंगरोदन सम्पन्न गरिसकेको बताए । सीमा क्षेत्रका समकक्षी सुरक्षा निकायहरूसँग नियमित बैठक आयोजना गरी सौहद्रपूर्ण साङ्गठनिक समन्वयका साथ सहकार्य गरिरहेको बताए । राज्यको सीमा सुरक्षा पहराले मात्र बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन, मस्तिष्क र विश्वास जितेर परिचालित हुन सके उनीहरूमा समेत सीमा सुरक्षाको सम्बन्धमा जिम्मेवारी बोध हुने उल्लेख गरे । 

आईजीपी अर्यालले सशस्त्र प्रहरी बलका जवानहरूले जागिर नभइ सेवा गर्नुपर्ने भावनाका साथ काम गरिरहेको बताए । नागरिकको मन, मस्तिष्क जित्ने अभियानमा सबै लाग्नुपर्ने ध्येयका साथ सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम गरिरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्