रुकुम पूर्व । सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म रुकुम (पुर्व) ले विभिन्न कार्यक्रम गर्दै आफ्नो ७ औं वार्षिकोत्सब मनाएको छ।
नेपाल आश्रित गुल्म रुकुम (पुर्व) मा शनिबार आयोजित ७ औं वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कमल प्रसाद तिउसीनाले सशस्त्र प्रहरी बलको नीतिलाई आत्मसाथ गरी संगठनको भिजन अनुसार जिल्लाको आन्तरिक सुरक्षालाई मजवुत बनाएको भन्दै आश्रित गुल्म परिवारको प्रशंसा गरेका थिए।
त्यस्तै एसएसपी तिउसीनाले संगठनको अवधारणालाई प्राथमिकतामा राखी प्रभावशाली तरिकाले आन्तरिक सुधारका विषयहरु पहिचान गरी योजनावद्ध तरिकाले संगठनको उद्धेश्य प्राप्तिको लागि उच्च कार्यकुशलता प्रदर्शन गर्न निर्देशन दिएका हुन् ।
त्यसैगरी रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले रुकुममा सशस्त्र प्रहरीले आन्तरिक सुरक्षामा देखाएको कार्य कौशलताको तारिफ गर्दै अझै सशस्त्र प्रहरीलाई जनताको सुरक्षामा डट्न सुझाव दिएका थिए।
केक काटेर सुरु गरिएको वार्षिकोत्सब कार्यक्रममा जिल्ला समन्वय उप-प्रमुख मोहन के.सी, जिल्ला न्यायाधीश लोक बहादुर हमाल, स्थानीय तह प्रमुख, नेपाली सेना सुरक्षा गुल्मका गुल्मपति प्रकाश कार्की, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक माधव राज खरेल लगायत सरकारी कार्यालय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो।
साथै उक्त गुल्मको ७ औं बार्षिकोत्सवमा बर्षभरी उत्कृष्ट कार्य गर्ने तथा बिभिन्न खेलमा उत्कृट भएका २१ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसा-पत्र प्रदान गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मले जानकारी दिएको छ।
सोही अवसमा बिभिन्न सामाजिक कार्यमा अहम भुमिका खेल्ने स्थानीयवासी भिमकान्त उपाध्यायलाई दोसल्लाले सम्मान समेत गरिएको नेपाल आश्रित गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक बिकास भक्त श्रेष्ठले जानकारी दिएका छन।