सौरभ गिरी/काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाभरमा आर्थिक वर्ष २०८१-०८२ को पछिल्लो ३ महिना १० दिनमा ६७ लाख ३४ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक प्रहरी कार्यालय दाङले उक्त राजस्व गत कात्तिकदेखि माघ १० गतेसम्मको ५८ सय ९३ सवारीसाधनलाई गरेको कारबाहीबाट संकलन गरेको जनाएको छ।
ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार कात्तिकमा १७ सय ६४ सवारी साधनलाई कारबाही गर्दै २० लाख १ हजार रुपैयाँ राजस्व संकलन गर्दा मंसिरमा १७ सय ८० सवारीसाधनलाई गरिएको कारबाहीमा २० लाख २६ हजार राजस्व उठाएको हो।
त्यसैगरी पुस मसान्तसम्म १८ लाख २१ हजार ५०१ रुपैयाँ राजस्व संकलनका क्रममा १६ सय २९ सवारीसाधनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरेको थियो भने माघ १ गतेदेखि १० सम्ममा ७ सय १० सवारीसाधनलाई कारबाही गर्दै ७ लाख ८६ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।
त्यस्तै सोही अवधिसम्म जिल्लाभरमा भएका १ सय ७५ वटा सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको ट्राफिक प्रहरी दाङले जानकारी दिएको छ। दुर्घटनामा मृत्यु भएकाहरुमा ३० जना पुरुष, ७ महिला र एक जना बालक रहेका छन् । उक्त १७५ दुर्घटनामा ८३ जना गम्भीर घाइते हुँदा १ सय १ जना सामान्य घाइते भएका छन् ।
ट्राफिक प्रहरी दाङका अनुसार गम्भीर घाइते हुनेमा ५४ जना पुरुष, २३ जना महिला, ५ बालक र १ बालिका छन् । त्यसैगरी सामान्य घाइतेतर्फ ७८ पुरुष, १८ महिला, ४-४ जना बालबालिका रहेका छन् । त्यस अवधिमा ६ वटा टिपर र ६ वटा ट्रक, ११ वटा बस, एउटा माइक्रो, २० वटा जीप र १४ वटा टेम्पो दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ।
दुर्घटना न्यूनीकरणका लागि कात्तिकदेखि माघ १० सम्म ३ सय २६ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम गरेकोमा २४ हजार ५०७ जना लाभान्वित भएको ट्राफिक प्रहरी दाङले जानकारी दिएको छ।
पुस र माघमा हुस्सु र कुहिरोका कारण केहि बढी दुर्घटना भएपछि सार्वजनिक सूचना जारी गर्दै गति कम गरेर सवारी चलाउन अपिल गर्दै आएको जनाउँदै हुस्सु र कुहिरोले दुर्घटना निम्त्याउन सक्ने हुँदा चालकहरुलाई सवारीसाधनमा रिफ्लेक्टभ स्टिकर टाँसेर सवारी चालाउन आग्रह गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।