नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक: प्रहरी प्रमुख

'हिरासत व्यवस्थापन मार्गदर्शन’ पुस्तक विमोचन

काठमाडौं। नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१-०८२ को कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक कार्य प्रगति समिक्षा कार्यक्रम आज प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । 

कार्य प्रगति समिक्षा गर्दै प्रहरी प्रमुख बसन्त बहादुर  कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘ हिरासत व्यवस्थापन मार्गदर्शन’ पुस्तकको विमोचन गरेका छन् ।

प्रहरी प्रमुख कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताएका छन्  ।  उनले वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकि सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप  तीव्रता दिन आवश्यक रहेको उल्लेख गरे ।

कुँवरले कार्यसम्पादन सम्झौता र वार्षिक कार्ययोजना तथ्याङ्कमा मात्र सीमित नभई परिणाममुखी बनाउनेतर्फ संवेदनशील हुनुपर्ने उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, हिरासत व्यवस्थापन लगायतका कार्यमा अझ बढि क्रियाशील हुनुपर्ने बताएका हुन्  । प्रहरी कार्यालयमा रहेका पेन्डिङ मुद्दा फछर्यौट एवम् विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाई कार्यसम्पादन गर्न उनले निर्देशन दिएका छन्  ।

प्रहरी प्रमुख कुँवरले प्रहरी संगठनको वृहत्तर हितका लागि थप सिर्जनशील हुन समेत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका थिए।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रमुख एवम् प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

आज भएको समिक्षाको प्रस्तुतिकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषयहरू समेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यसैगरी आजको समिक्षा कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गरेका थिए  । उक्त  प्रस्तुतीकरणमा नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्य सम्पादन सम्झौताको साउनदेखि पुस महिनासम्मको कार्य प्रगति विवरण, प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरू लगायतका विषयहरू समेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार समिक्षा कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू, प्रदेश प्रहरी गण तथा विशेष सुरक्षा गणका प्रमुखहरू, तीन वटै परिसर एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्