नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीमा तीन डीआईजी रिक्त, बढुवा प्रक्रिया नै अन्योलमा

सौरभ गिरी,काठमाडौं यतिबेला सशस्त्र प्रहरी बलमा तीन सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पद रिक्त रहेको छ। डीआईजी किशोर प्रधान अवकाश गएसँगै  सशस्त्र प्रहरी बलमा तीन डीआईजी पद रिक्त भएको हो।

गत भदौ १६ गते ३० वर्षे उमेरहदका कारण सशस्त्र प्रहरीका दुई डीआईजी अभि कुमार खत्री र दुर्गा भट्टराई अवकाश गएपछि रिक्त भएको दुई डीआईजी प्रधानको अवकाशसँगै तीन जना डीआईजी पद रिक्त भएको हो।

भदौ १६ देखि रिक्त रहेको डीआईजी पदका लागि लामो समयसम्म बढुवा हुन सकेको छैन । डीआईजीको ५ वर्षे सेवाअवधिका कारण प्रधान ९ नम्बर बाहिनीबाटै अवकाश भइसकेका छन् । 

तीन डीआईजी अवकाश हुँदा सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा बढुवा सिफारिस प्रक्रिया चाँडै सुरु गर्ने बताएपनि प्रक्रिया नै अन्योलमा रहेको छ।

हाल सबैभन्दा सिनियर एसएसपीहरुमध्ये स्टाफ कलेज गरिसकेका मनिष थापा, कृष्णराज ढकाल र नेपाल प्रहरी सेवाबाट सशस्त्र प्रहरीमा आएका कृष्णराज पाठक डीआईजीका मुख्य दाबेदार मानिएका एसएसपीहरु हुन् । अहिलेका एसएसपीहरुमा पाठक सबैभन्दा सिनियर हुन् । उनी हालका सशस्त्र प्रहरी प्रवक्ता  डीआईजी कुमार न्यौपानेको ब्याजी हुन।

त्यस्तै  सिसम १ बाट सिनियर एसएसपी बिनोद राज श्रेष्ठ र प्रकाश थापा भएपनि उनीहरुले स्टाफ कलेज पास नगरेका कारण बढुवा हुन पाउने छैनन्। 

यसअघि नै सिसम १ का सुरेश श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र दीपक अधिकारी डीआईजी भइसकेका छन् ।

सशस्त्र प्रहरीको सिसम २ का दीपेन्द्र कुँवर,  विश्नु भट्ट र दिग्विजय सुवेदी, भुपेन्द्र खत्री  पनि डीआईजीका दाबेदार मानिन्छन। नेपाल प्रहरीबाट आएका एसएसपी प्रवीण कँडेल पनि दाबेदार मानिए पनि उनको बढुवा हुने कुनै सम्भावना नरहेको बताइएको छ।

तर, यता सशस्त्र प्रहरी प्रधान कार्यालयले डीआईजी बढुवा सिफारिस प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेपनि राजनीतिक शक्तिकेन्द्रको दबाबले सिनियर एसएसपी डीआईजी बढुवाबाट बन्चित हुने हुन की भन्ने आशंका धेरै उब्जिरहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्