नेभिगेशन
सुरक्षा विशेष

प्रहरीमाथि कुटपिट गर्ने जोसुकै भएपनि तत्काल कारबाही अगाडि बढाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । प्रहरीमाथि भएको कुटपिट घटनामा जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

आज प्रहरी प्रमुख (आईजीपी) बसन्तबहादुर कुँवरसहित प्रहरीका उच्च अधिकारीहरुलाई गृह मन्त्रालय बोलाएर प्रहरीलाई कुटपिट तथा आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्रीले पछिल्लो समयमा प्रहरीमाथि भइरहेको दुर्व्यवहार र कुटपिटका घटनाप्रति कडाइका साथ लागेर त्यस्ता व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रमुख कुँवरलाई निर्देशन दिएका हुन् ।

प्रहरीमाथि भएको घटनाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै काठमाडौंको ठमेल, धनगढी  लगायतका स्थानमा भएका ती घटनाको छानबिन गरि कानुनी दायरामा ल्याउन गृहमन्त्रीले निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

प्रहरीमाथि भएका गलत कार्यमा संलग्न रहेका जोसुकै हुन् त्यस्ता व्यक्तिलाई तत्काल कारबाही गर्न निर्देशन दिइसकेको सचिवालयले जानकारी दिएको छ। समाजको शान्तिसुरक्षामा तल्लीन सुरक्षाकर्मीमाथि गर्ने अमानवीय कार्यमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याएर आफू लाई जानकारी गराउन गृहमन्त्रीले प्रहरी प्रमुखलाई कडा निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्