नेभिगेशन
नेपाल प्रहरी

ठमेलमा प्रहरी कुटपिट घटना: गृहमन्त्रीको आदेशपछि अनेरास्ववियु स्थायी कमिटी सदस्य जोशी पक्राउ

काठमाडौं । काठमाडौंको मुख्य पर्यटकीय स्थल ठमेलमा प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियु स्थायी कमिटी सदस्य कमल जोशीलाई पक्राउ गरेको छ।

ठमेलमा ड्युटीमा रहेका दुई जना प्रहरीलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेपनि  घटनामा संलग्न रहेका जोशीलाई पक्राउ गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई आदेश दिएका थिए।

प्रहरी प्रमुख कुँवरले जिल्ला प्रहरी परिसरका प्रमुखलाई तत्काल जोशीलाई पक्राउ गर्न आदेश दिएसँगै  प्रहरीले आज उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

ठमेलमा माघ २४ गते राति ड्युटीमा खटिएका प्रहरी हवल्दार जुगलाल चौधरी  र  जवान नगेन्द्र बिष्टमाथि जोशीसहितको टोलीले कुटपिट गरेको थियो।

प्रहरीले यसअघि नै कुटपिटमा संलग्न रहेको आरोपमा  अस्कल क्याम्पसका स्ववियु सहसचिव डडेल्धुरा घर भएका २२ वर्षीय रमेष फुलारा र ताप्लेजुङका २५ वर्षीय दिनेश सिग्देललाई पक्राउ गरिसकेको छ। तर प्रहरीले जोशीलाई पक्राउ नगरेर उन्मुक्ति दिन खोजेपछि चौतर्फी विरोध हुँदा गृहमन्त्री पक्राउ गर्न निर्देशन दिएका थिए।

आक्रमणमा संलग्न रहेका अनेरास्ववियु अस्कल क्याम्पस इकाई कमिटी सचिव गोपाल बहादुर शाही, सदस्य नवीन ऐर र सौजन्य शाही फरार रहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्