नेभिगेशन
सशस्त्र प्रहरी

लुम्बिनीबाट झण्डै ४५ करोडको अवैध सामाग्री बरामद, सीपमूलक तालिमदेखि काउन्टरपार्टसका मिटिङ्गसम्म

गलत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउँछु: डीआईजी पाल

सौरभ गिरी,काठमाडौं   सीमा सुरक्षा, सीमा अपराध, अवैध ओसारपसारविरुद्द र शान्ति सुरक्षा लगायतका कार्य गर्दै आएको सशस्त्र प्रहरी बलले  पश्चिम नवलपरासी देखि बर्दियासम्मको ४ सय ३४ किलोमिटर लामो सीमा भएको लुम्बिनी प्रदेशमा गरेको अवैध तस्करीविरुद्धको कारबाहीमा झण्डै ४५ करोड रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

अबैध चोरी निकासी पैठारी नियन्त्रणमा निर्ममताका साथ  अगाडी बढेको सशस्त्र प्रहरी बल नं.५ विन्ध्यावासीनी बाहिनी चन्द्रौटा र मातहतका जिल्ला कमान्ड कार्यालयहरुले एक वर्षको अवधिमा तस्करीविरुद्धको कारबाहीबाट ४४ करोड ९९ लाख २६  हजार ५ सय ५७ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको विन्ध्यावासीनी बाहिनीका सहायक बाहिनीपति एसएसपी एवं सूचना अधिकारी कमल प्रसाद तिउसीनाले जानकारी दिएका छन् ।  सुरक्षाखबरले प्राप्त गरेको विवरण अनुसार सशस्त्र प्रहरी बल लुम्बिनीकै इतिहासमा यतिधेरै रकम बराबरको अवैध सामाग्री बरामद गरेको पहिलोपटक हो।

सशस्त्र प्रहरी मुख्यालय नम्बर ५ विन्ध्यावासीनी बाहिनीको कमाण्ड गर्दै आएका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदिप कुमार पालको कडा निर्देशन अनुसार लुम्बिनी प्रदेशका सीमावर्ती ६ जिल्लाका कमान्डरहरुले अहोरात्र खटिदै सीमाबाट हुने अवैध कारोबारलाई रोक्न सफल भएर अहिलेसम्मकै ठुलो रकम बराबरको अवैध सामाग्री बरामद गर्न लुम्बिनीस्थित सशस्त्र प्रहरी सफल भएको हो। लुम्बिनीमा सशस्त्र प्रहरीले अवैध सामाग्रीमात्रै बरामद होइन, सशस्त्र प्रहरीले लुम्बिनीका विभिन्न जिल्लामा सीप तथा रोजगारका लागि विभिन्न किसिमका तालिम समेत दिएको छ। 

एसएसपी तिउसीनाका अनुसार सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशभरका सीमा नकामा १४ सय १४ पटक संयुक्त गस्ती गर्दै सशस्त्र प्रहरीले मात्रै प्रदेशभर ४६ सय ४७ पटक एकल गस्ती गरेको हो। सशस्त्र प्रहरीले प्रदेशभर विभिन्न जिल्लामा २० वटा हेल्प डेस्क सन्चालनमा ल्याउँदा ३ वटा पर्यटकीय सहायता डेस्क र ३ वटा एकिकृत जाँच चौकी सन्चालनमा ल्याएको हो।

सशस्त्र प्रहरी बल विन्ध्यावासीनी बाहिनीले दिएको जानकारी अनुसार  सशस्त्रको अगुवाईमा प्रदेशभरका ८८ वडामा ८८ पटकनै सीमा सहजीकरण समितिको बैठक बसेको थियो भने १ सय १२ पटक सीमाबासीसंग अन्तरक्रिया कार्यक्रम गरिएको थियो। त्यस्तै यस एक वर्षको अवधिमा विन्ध्यावासीनी बाहिनीले अन्तर्राष्ट्रिय सीमा जोडिएका सीमाका वडाध्यक्षहरुसँगको संम्मेलन ३ पटक गरेको थियो। उक्त अवधिमा विन्ध्यावासीनी बाहिनीले ६७ पटक प्रदेशभरका सीमा नाका (दशगजा) को सरसफाइ गरेको थियो  । एसएसपी तिउसिनाको नेतृत्वमा नेपालगन्जमा गरिएको सीमा क्षेत्रका वडाध्यक्षको सम्मेलनबाट निकै फलदायी र प्रभावकारी रहेको नेपालगन्जका जनप्रतिनिधिहरु बताउँछन् ।

त्यसैगरी सीमा सौन्दर्यकरणकोतर्फ विभिन्न सीमा नाकाबाट सौन्दर्यकरण कार्यको थालनी गर्दै सशस्त्र प्रहरी विन्ध्यावासीनी बाहिनीले सीमा नाकामा स्वच्छ र शुद्द खानेपानीको समेत व्यवस्था गरिसकेको एसएसपी तिउसीनाले बताए।  सशस्त्र प्रहरीले यस अवधिमा दुई पटक डिआईजी  र २९ पटक एसपी स्तरीय काउन्टरपार्टस मिटिङ्ग सम्पन्न गर्ने क्रममा विभिन्न जिल्लाको सीमावर्ती स्थानहरुमा ६ सय ३६ पटक जनचेतनामूलक कार्यक्रम गरिसकेको छ। एक वर्षको अवधिमा  ४६ पटक  २४ अैं सीमा पैदल गस्ती  र  १४४ पटक लामो दुरीको गस्ती गर्दै सीमा नाकामा सशस्त्र प्रहरीले कडा निगरानी बढाउँदै आएको छ। 

गत फागुनदेखि माघ मसान्तसम्मको अवधिमा सशस्त्र प्रहरीले २७ पटक मानव बेचबिखनविरुद्धको सचेतना प्रशिक्षण दिदै ३६ जनाको उद्धार गरेको थियो भने सोही अवधिमै ५५ पटक लागुऔषध बरामद गरेको सूचना अधिकारी तिउसीनाले बताए। त्यसैगरी सशस्त्र प्रहरीले ३१४ वटा सवारी दुर्घटनामा उद्धार कार्य  गरिसक्दा सयौं नागरिकको ज्यान जोगाएको थियो भने ५२ स्थानमा भएको आगलागी घटना, ६६ स्थानको बाढी-पहिरो घटनामा उद्धार कार्यमा परिचालन हुँदै ३५ जनाको सकुशल उद्धार गरेको विन्ध्यावासीनी बाहिनी जनाएको छ।

सशस्त्र प्रहरी बल प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको भिजन अनुसार सीमाबाट हुने अवैध तस्करी,  सीमा अपराध नियन्त्रण गर्न परिचालनको साथै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम, सीमा क्षेत्र विकास, कार्यक्रम र सिघ्र प्रभाव कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी लुम्बिनीले विभिन्न किसिमका कार्यक्रम गरिसकेको छ।

जसअन्तर्गत सीमावासीसंग सशस्त्र प्रहरी' कार्यक्रमतर्फ ५ स्थानमा सीमावासी जनाताका लागि स्वास्थ्य शिविर गरिएको छ भने ४ जिल्लामा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दा दुई स्थानका विद्यालयमा रङरोगनसमेत गरिएको छ। त्यसैगरी सशस्त्र प्रहरीले  एक स्थानमा स्थानीयका लागि डस्टविन निर्माण गरेको छ भने दुई स्थानमा शौचालय, एक स्थानमा चौतारी निर्माण , २०४  पटक वृक्षरोपण, ३ सय ४२ पटक विभिन्न स्थानमा सरसफाइ गरिएकोमा ३७ पटक सशस्त्र प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरेको एसएसपी तिउसीनाले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बलको अवधारणा अनुसार 'सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम' अन्तर्गत सशस्त्र प्रहरीले कपिलवस्तुसहित विभिन्न जिल्लामा कपाल काट्ने र अन्य सीपमूलक तालिम दिएको एसएसपी तिउसीनाले बताए। सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम' अन्तर्गत सशस्त्र प्रहरीले  खानेपानीको समस्या भएका कपिलबस्तुसहित विभिन्न स्थानमा १३ वटा खानेपानीको धारा निर्माण गरिसकेको छ।

सशस्त्र प्रहरी संगठन प्रमुखको निर्देशन अनुसार डीआईजी पालले चालेको कदमले प्रदेशमा सशस्त्र प्रहरीले उत्कृष्ट कार्य गर्न सफल सफल भइ जनताको सुखदुखको साथी बन्दै गएको छ।  बेलाबेलामा आफै गस्ती र निरीक्षणमा निस्किने गरेका बाहिनीपति पाल भन्छन्- "गलत कार्य गर्नेले मबाट कुनै सहयोग अपेक्षा नराक्ख्न भन्दै त्यस्ता कार्य गर्ने जो कोही भएपनि कारबाहीको दायरामा ल्याउँछु।"

उपलब्धि -

सशस्त्र प्रहरीले लुम्बिनीभरमा गरेका विभिन्न किसिमका कार्यले सीमावासीसँग सशस्त्र प्रहरी बलको सम्बन्ध समुधुर बन्दै गएको अवस्थामा छ भने सशस्त्र प्रहरीले प्रदेशभर सीमा अपराध नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै स्थानीय स्तरमा उठेका गुनासा तथा समस्याहरु निराकरण हुन सफल भएको एसएसपी तिउसीनाले बताए।

त्यस्तै सीमा स्तम्भ तथा दशगजा क्षेत्रमा निरन्तर अवलोकन र  सुरक्षा दिदा त्यहाका स्थानीयवासी र सीमा सुरक्षाको अवस्था मजबुत रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सीमावासीसँगको सम्बन्धमा सुमधुर भएकै कारण सशस्त्र प्रहरीले सुरक्षा कारबाहीमा सहजता भएको पाएको छ।

सशस्त्र प्रहरीको सीमावासीसँग कार्यक्रमबाट सीमावासी नागरिक  सशस्त्र प्रहरीसँग नजिकिन पाँउदा उनीहरुको  जनजीवन नै बदलिदै गएको पाइएको छ। यतिमात्रै हैन सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशका सीमा नाकामा गरेको कडाइले वर्तमान अवस्थामा नेपाली बजार फस्टाउँदै गइरहेको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्