नेभिगेशन
नेपाल प्रहरी

यस्तो प्रहरी चौकी जहाँ महिलामात्रै तैनाथ छन् ....

काठमाडौं । कास्कीस्थित पोखराको नदीपुर अस्थायी   प्रहरी चौकीमा महिला प्रहरी मात्रै खटाइएको छ। पोखरा महानगपालिका-३ नदीपुर अस्थायी प्रहरी चौकीमा प्रहरी पुरुष कर्मचारीलाई अन्यत्र सारिएर महिला प्रहरीलाई मात्रै राखिएको छ।

आजदेखि महिला कर्मचारी मात्र हुने नदीपुर प्रहरी चौकीबाट उक्त कार्यको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नयाँ सेवाको शुभारम्भ गरेका हुन् । प्रजिअ पाण्डेले महिलामात्र कार्यरत रहेको युनिट बढी अनुशासित हुने बताए । कानुनको पालना गरेर समाजमा शान्ति कायम गराउन नागरिक समाजको पनि दायित्व भएको उनको भनाइ छ ।

उनले नागरिक पनि विना बर्दीको प्रहरी भएकाले जनताको साथ बिना प्रहरी एक्लैले शान्ति सुरक्षा दिन नसक्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी( श्यामबाबु ओलियाले महिला प्रहरी मात्र राखेर सेवा सञ्चालन गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले विशेषगरी महिला तथा बालबालिकासँग सम्बन्धित काम गर्नका लागि पनि महिलालाई मात्र जिम्मेवारी दिइएको बताए ।

कास्कीमा महिला प्रहरी कर्मचारी प्रशस्तै रहेका र उनीहरुको क्षमता पनि अब्बल रहेको उनले स्पष्ट पारे ।

एसपी ओलियाका अनुसार प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ जनाको टोली सो पोष्टमा रहनेछन् । अहिले प्रहरी सहायक निरीक्षक दीपा आलेले पोष्टको कमाण्ड गर्नेछिन् ।

छिट्टै नै पोखरा औद्योगिक क्षेत्रको पोष्टमा पनि महिला प्रहरी कर्मचारी मात्रै राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।

कास्कीमा भएको ९ सय ६१ दरबन्दीमा एक सय ३५ जना महिला रहेको उनले बताए । कास्की प्रहरीअन्तर्गत ७७ वटा युनिट छन् । कास्कीमा एक जना प्रहरीले करिब एक हजार जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको एसपी ओलियोको भनाइ छ ।

अस्थायी प्रहरी पोस्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक दीपा आलेले प्रहरी सेवामा प्रवेश गरेको २५ वर्षमा पहिलो पटक कमान्ड गर्ने जिम्मेवारी पाएको बताइन् । उनले कुशलतापूर्वक जिम्मेवारी वहन गर्ने बताइन् । अस्थायी प्रहरी पोस्टमा आलेसँगै प्रहरी हवल्दार सङ्गीता महतो, जवान देवी पुर्जा, मनीषा बुढा, अमृता अठारे, गङ्गा सुनार, जानुका श्रेष्ठ, मञ्जु नेपाली र ममता सिंह खटिएका छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्