नेभिगेशन
नेपाल प्रहरी

नयाँ प्रहरी प्रमुखको दौडमा एआईजी गिरी, थापा र तामाङ, तीनै जनामा के छ खुवी ?

प्रतिष्पर्धामा विशेष ब्यूरो ‘स्पेसलिस्ट' देखि सबै दमदार

काठमाडौं । नेपाल प्रहरीले चाँडै नयाँ प्रहरी प्रमुख पाँउदै छ। २०८१ चैत ५ गते वर्तमान प्रहरी प्रमुख बसन्त बहादुर कुँवर ३० वर्षे सेवा अवधिका कारण अवकाश जाँदै छन् ।

सरकारले प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन दर्ता गरेको प्रस्तावसहितको विधेयक तत्काल पास भएर कार्यान्वयनमा आउने अवस्था नदेखिएसँगै आगामी चैत ५ गते प्रहरी प्रमुख कुँवर अवकाश जाने हुँदा नेपाल प्रहरीले नयाँ प्रहरी प्रमुख पाउने निश्चित नै देखिएको छ।

प्रहरी प्रमुख कुँवरसँगै उनका ब्याचमेटहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)  टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र फागुन ११ गते एआईजीमा बढुवा भएका जनक भट्टराई यहीँ चैत ५ गते अवकाश जाने हुँदा ३१ औं प्रहरी प्रमुखमा तीन जना एआईजीहरु प्रतिष्पर्धामा देखिएका छन् ।

जसमा खुकुरी होल्डर रहेका राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जका प्रमुख एआईजी सुदिप गिरी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख दीपक थापा र उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रमुख एआईजी टेकबहादुर तामाङ छन् ।

खुकुरी होल्डरदेखि विशेष ब्यूरोस्पेसलिस्टएआईजी गिरी

ब्यूरो ‘स्पेसलिस्ट’ मानिने एआईजी गिरी पनि ३१ औं प्रहरी प्रमुखका मुख्य प्रतिस्पर्धी हुन् । अन्तर देशीय संगठित अपराध अनुसन्धानमा बिषेश दक्खल राख्ने गिरी ४ पटक युएन मिसनमा सहभागी भइसकेका छन् भने विभागीय कोटाबाट काठमाडौं स्कुल अफ ल बाट कानुन संकायतर्फ एलएलएम गरिसकेका छन् ।

अत्यन्त संवेदनशील पर्सा जस्तो जिल्लाको कमाण्ड सम्हालिसकेका गिरी विशेष ब्यूरोमा रहेर आतंकवाद तथा विशेष प्रकृतिका घटनाहरूको अनुसन्धान गर्ने विशेष ब्यूरोको १ दशक बढी लामो अनुभव छ ।

प्रहरी सेवामा प्रवेश गरेसँगै इन्स्पेक्टर बेसिकको अलराउन्ड फस्ट भएका गिरी खुकुरी होल्डर हुन् । कमान्डो तालिम गरिसकेका एआईजी गिरी इन्स्पेक्टरमै हुँदा चार वर्षसम्म केन्द्रीय विशेष कार्यदलमा रहेर कार्य गरिसकेका छन। कमान्डो सकेर युएन मिसनसमेत गइसकेका गिरी विशेष ब्यूरोमै हुँदा प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए। गिरीको पहिलो डीएसपीको पोस्टिङ कालिमाटी प्रहरी कार्यालयमा रहदै गर्दा मिसनमा नाम निस्किएपछि फेरि उनी मिसन हानिएका थिए।

डीएसपीमै कार्यदलको इन्चार्ज बनिसकेका गिरी एसपी बनिसकेपछि पर्सा जस्ता जिल्लाको सफल कमान्ड गरेर फर्किएका थिए। पर्साबाट फर्किएसँगै गिरी पुनः विशेष ब्यूरोमा फर्केर सीआईबीमा गएका गएर काम गरेका थिए। सीआईबीमा हुँदा राम्रो कार्यको फल स्वरुप प्रहरी प्रधान कार्यालयले सीआईबीबाटै उनलाई कैलालीको कमान्ड गर्न पठाएको थियो।

एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि केही समय प्रधान कार्यालयमै बसेर कार्य गरेपछि उनलाई फेरि सीआईबीमा सेकेन्डम्यान बनाएर पठाइएको थियो। गिरीको कार्य कौशल र क्षमताका कारण प्रहरी प्रधान कार्यालय उनलाई काठमाडौं जस्तो जिल्लाको प्रहरी प्रमुख बनाएर पठाएको थियो। त्यहाँ पनि गिरीले राम्रो तरिकाले कार्य गर्न सफल भएका थिए।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएसँगै कोशी प्रदेशको प्रहरी प्रमुख बनेर विशेष ब्यूरोमा फर्किएर त्यसको प्रमुख भएर काम गरेका थिए। बौद्धिक, अब्बल , संगठनले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सक्ने हालका एआईजी गिरी लामो समय प्रदेश समन्यव विभागमा बस्दै हाल प्रहरी प्रतिष्ठानको प्रमुख भएर भविष्यका प्रहरी प्रमुखहरुलाई शिक्षा दिदै आएका छन् ।

विवादरहित छबि भएका एआईजी गिरी यदि ३१ औं प्रहरी प्रमुख गिरी नियुक्त भएमा प्रहरी भित्रका थुप्रै समस्या समाधान हुन सक्नेछन् भने संगठनलाई जोलन्त पाराले हाक्ने उनमा खुबी छ।  

एआईजी थापा

त्यस्तै एआईजी थापा पनि नयाँ प्रहरी प्रमुखका लागि अर्का मुख्य प्रतिष्पर्धी हुन् । गिरी र तामाङ भन्दा दुई साता अघि एआईजी बनेका थापा विभिन्न राजनीतिक शक्तिकेन्द्र धाउन सुरु गरिसकेको प्रहरी निकट श्रोत बताउँछ ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर ) बाट सेवा प्रवेश गरेका थापाले विभिन्न इलाका प्रहरीको कमान्ड गरिसकेका छन् भने थापालाई फिल्ड कमान्ड र अपरेसनमा केही अनुभवी भएको अधिकृतको रुपमा चिनिनिन्छन।

प्रहरी निरीक्षक भएकै वेलामा प्रहरी स्कुल लगायत प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्य गरिसकेका थापा इन्स्पेक्टर भएकै समयमा सुडान मिसनमा गएका थिए। 

थापाले डीएसपीमा बढुवा पश्चात् पहाडी जिल्लाको कमान्ड गरेका थिए भने प्रधानमन्त्रीको सुरक्षा प्रमुख भएर पनि काम गरिसकेका छन् । उनी डीएसपीमा काठमाडौंको वृत्त र इलाका प्रहरी बुटवल कार्यालय बुटवलमा इन्चार्ज बन्दै पुनः कर्मचारी प्रहरी प्रशासन शाखामा पुगेका थिए। डीएसपीमै हुँदा थापा लाइबेरिया मिसन गएका थिए।

थापा एसपी बनेपछि अख्तियार लगायत चितवनको प्रहरी प्रमुख बन्दै प्रहरी प्रधान कार्यालयको बजेट शाखामा पनि बसेर काम गरेका हुन् भने एसएसपीमा हुँदा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्य गरिसकेको अनुभव थापासँग छ।

थापा एसएसपी भएकै समयमा प्रहरी प्रतिष्ठान र वृत्ति विकास महाशाखामा काम गरिसकेका छन् । डीआईजीमा बढुवा भएपछि थापाले प्रबन्ध निर्देशनालय र बागमती प्रदेश प्रहरी प्रमुखका रूपमा कार्य गरिसकेका छन् । एआईजीमा थापा काठमाडौं उपत्यका प्रहरी कार्यालय ,प्रशासन विभाग र सीआईबीमा प्रमुख भएर कार्य गरिसकेका छन् । हाल उनी सीआईबी प्रमुख छन् । चितवन प्रहरी प्रमुख हुँदा विवादित बनेका थापा डीएसपी हुँदा पछाडी छुटेका थिए भने प्रहरीको एसपीबाट एसएसपी बढुवाको ४ वर्षे प्रावधानलाई संशोधन गर्दै ३ वर्षमा झार्दा थापा अगाडि आएका थिए।

एआईजी तामाङ 

हालका उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रमुख रहेका एआईजी तामाङ पनि नयाँ प्रहरी प्रमुखका तेस्रा दाबेदार हुन् । शान्त स्वभावका एआईजी तामाङलाई पनि प्रहरी प्रतिष्ठान र अख्तियारमा बसेर कार्य गरेको अनुभव छ।

इन्स्पेक्टर हुँदा विभिन्न इलाका प्रहरी र वडा प्रहरीको इन्चार्ज भएर कार्य गरिसकेका तामाङ लामो समयसम्म अख्तियारमा बसेर कार्य गरिसकेका छन्  भने एसपीमा जिल्ला प्रहरी कार्यालय बाँके र पहरा गण सामाखुसीको कमान्ड गरिसकेका छन् । 

तामाङ एसएसपी हुँदा तालिम केन्द्र प्रमुखका रूपमा कार्य गरिसकेका छन् भने डीएसपी हुँदा अर्घाखाँची,खोटाङको कमान्ड गरिसकेका छन् ।  त्यस्तै प्रहरी वृत्त कालिमाटी र इलाका प्रहरी धरानको इन्चार्ज बनेर तामाङले कार्य गरिसकेका छन् । तामाङ जागिरे दौरानमा बढीजसो तालिम केन्द्र र अख्तियारमा बसेका छन् । एसपी भएकै बेला  अख्तियार पुगेका तामाङ एसएसपीमा विराटनगर तालिम केन्द्र र पुनः अख्तियार टंगालमै गएका थिए। उनी डीआईजी भएपछि पनि अख्तियार गएका उनी विभिन्न देशका लागि शान्ति मिसन गइसकेका छन् ।

एआईजीमा बढुवा भएपछि तामाङ अपराध अनुसन्धान विभाग पुग्दै उपत्यका प्रहरी कार्यालयकी तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्यको अवकाश पछि उनी उपत्यका प्रहरी कार्यालयको कमान्ड गर्न पुगेका हुन् । 

३१ औं प्रहरी प्रमुखको दौडमा रहेका उनीहरु तीनै जनाबीच कडा प्रतिस्पर्धा छ भने नयाँ प्रहरी प्रमुख हुने दौडका रहेका छन् । आगामी चैत ५ गते नेपाल सरकारले तीन एआईजीबाट एक एआईजीलाई ३१ औं प्रहरी प्रमुखमा नियुक्त गर्नेछ। 

यदि प्रहरीको ३० वर्षे सेवाअवधि विद्यमान भएमा उनीहरु मध्येबाट हुने प्रहरी प्रमुखले आगामी २०८२ भदौ ११ गतेसम्म नेपाल प्रहरीको कमाण्ड गर्नेछन् । तर, उक्त प्रहरी विधेयक पास भएको खण्डमा कमान्ड गर्ने समयले अर्कै मोड लिनेछ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्