नेभिगेशन
नेपाल प्रहरी

प्रहरीले एकसाथ दियो बाँकेका २९ विद्यालयका विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण

नेपालगन्ज बाँके जिल्लाका विभिन्न स्थानमा प्रहरीले विद्यार्थीलाई लागुऔषध दुव्यर्सन, मानव बेचबिखन, साइबर साइबर क्राइम लगायतका बारेमा सचेतनामूलक प्रशिक्षण दिएको छ।

बाँकेका विभिन्न स्थानका २९ वटा  विद्यालयका सयौं विद्यार्थीहरुलाई आज जिल्ला प्रहरी कार्यालय बाँके र मातहतका प्रहरी कार्यालयले एक साथ युवा अवस्थामै कुलत लगायत अपराधबाट बच्न सचेतनामूलक प्रशिक्षण दिएको हो। 

जिल्लाभरका छुट्टाछुट्टै स्थानका विद्यालयसँग समन्वय गरेर यो अभियान अन्तर्गत अपराध गर्नेलाई कारवाही मात्रै गर्नेभन्दा पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर अपराध न्यूनीकरणतर्फ अग्रसर गराउनका लागि  विद्यालयसँग  समन्वय गरेर यो अभियान सञ्चालन गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक आकाश भुषालले बताए । 

विद्यार्थीहरुलाई प्रशिक्षण दिदै आएका प्रहरी निरीक्षक भुषालले अपराधबाट कसरी जोगिने, अपराध भएको ठाउँमा के गर्ने, इन्टरनेटको प्रयोग कसरी गर्ने, लागुऔषध सेवनले परिवार, समाज ,आफैमा के प्रभाव पार्छ र मानव बेचबिखनका बारेमा आज विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको जानकारी दिए ।

प्रशिक्षणमा सहभागी विद्यार्थीहरुले जिल्ला प्रहरी बाँकेले दिएको सचेतनामूलक प्रशिक्षणले युवा अवस्थामै हुन सक्ने अपराधबाट जोगिने प्रेरणा मात्रै नभइ आफू हरुले पनि अन्यलाई उक्त ज्ञान बाँड्न सक्ने बताएका थिए।

प्रहरी निरीक्षक भुषालका अनुसार यस अभियानलाई बाँके प्रहरीले निरन्तरता दिनेछ। सचेतना प्रशिक्षणमा बाल बिवाह, बहु बिवाह, घरेलु हिंसा, सडक दुर्घटना लगायतका बिषयलाई पनि प्राथमिकता दिइएको प्रहरी निरीक्षक भुषालले बताए ।

बाँकेको राप्तीसोनारी, नरैनापुर, नेपालगन्ज उपमहानगरपालिका , कोहलपुर नगरपालिका बैजनाथ, डुडुवा, जानकी र खजुरा गाउँपालिकाका विभिन्न विद्यालयमा आज एक साथ सचेतनामूलक प्रशिक्षण दिइएको हो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्