नेभिगेशन
अपराध

गाँजा विवादमा बसका सहचालकले काठमाडौंको सुकेधारामा ढुङ्गाले हानेर गरेका थिए राईको हत्या

काठमाडौं । काठमाडौंको सुकेधारा धोबीखोलामा मृत भेटिएका ५० वर्षीय अड्विर राईको हत्या भएको खुलेको छ। उनाको  गाँजा विवादमा हत्या भएको खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

राईलाई धोबीखोला करिडोर नजिक हत्या भएको खुलेको प्रहरीले जनाएको छ। उनको फागुन १३ गते राति हत्या गरिए पनि उनको शव काठमाडौँ –४ सुकेधारास्थित धोविखोला करिडोरमा फागुन १४ फेला परेको थियो।

प्रहरीले हत्या आरोपमा दोलखास्थित मेलुङ गाउँपालिका घर भएका विराट ठकुरीलाई  पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको हो । २९ वर्षीय ठकुरी काठमाडौँमा चल्ने बा ४ ख ५९९३ नम्बरको बसको सहचालक हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौं  अनुसार, क्लोज सर्किट (सीसी) क्यामरा र अन्य प्राविधिक पक्षको विश्लेषणका क्रममा ठकुरीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

शिवरात्रिको पूर्वसन्ध्यामा सार्वजनिक बसका सह–चालक शाहीले गाँजा खरिद गर्न चाबहिलतिर निस्किएका थिए । त्यहाँ उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका राईलाई भेटेका थिए । भोलिपल्ट शिवरात्रि थियो । चाबहिल चोकमा महिलाको पहिरनमा भेटिएका अडवीर र ठकुरीको बिचमा गाँजा किनबेच गर्ने कुरा हुन्छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार अडवीरसँग १० पोका गाँजा थियो । 

ठकुरीले आफू काम गर्ने गाडी पार्किङ गरेको ठाउँमा गएर गाँजा किन्ने कुरा गरे । त्यसपछि उनीहरू चाबहिलबाट सुकेधारातर्फ लाग्छन् । करिडोरमा पुगेपछि गाँजाको रकमबारे विवाद हुँदा आरोपीले अडवीरको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

ठकुरीले बयानमा बताए अनुसार , त्यति पैसा नदिए प्रहरीलाई खबर गर्ने, आफ्नो समुदायका व्यक्ति समेत बोलाउने भनेपछि उनी त्यहाँबाट निस्किएका थिए । त्यसक्रममा राई आफूलाई पछ्याउँदै हिँडेको उनले बयानमा भनेका छन् ।

प्रहरीले ठकुरीलाई राईले पछ्याउँदै गरेको सीसीटीभी फुटेज पनि संकलन गरेको छ ।

‘पछ्याउन नछाड्ने अनि उल्टै धम्क्याएपछि धोबीखोला करिडोर नजिक ढुंगाले हानेको थिएँ’, उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि त्यहाँ रहेको पुरानो शौचालयमा फोहोरले छोपिदिएको थिएँ ।’

हत्यापछि राईको शव नजिकैको शौचालयमा लगेर म्याट्रेस, सिरानी, झोला र फोहोरले छोपेर राखिदिए । त्यसपछि उनी बसभित्र छिरेर सुते । जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टिमले सीसीटीभीको सहायताले आरोपीलाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका ठकुरीलाई प्रहरी वृत्त महाराजगञ्जले ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्