काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ। जसअन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट प्रहरीले ५ ग्राम ७ सय ९० मिलिग्राम खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ ठउरी बस्ने २४ वर्षीय राम बहादुर नेपाली र बराहताल गाउँपालिका-२ रानीघाट बस्ने २१ वर्षीय रामचन्द्र थापा रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे ९ प ८७७० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
त्यस्तै प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका-१२ घले चोकबाट खैरो हेरोइन २ सय ६० मिलिग्राम सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही स्थानका २८ वर्षीय किशोर जोशी, ३५ वर्षीय जगदिश राना र २८ वर्षीय भीमनाथ योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अफिम २ किलो ५ सय ग्राम सहित धादिङ गजुरी नगरपालिका-४ बस्ने २६ बर्षीय राजन चेपाङलाई पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले धादिङबाट वीरगंजतर्फ जाँदै गरेको प्र-०३-०३-००१ प ५२७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीले झापाको भद्रपुर नगरपालिका-५ बाट १ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित सोही नगरपालिका-१ पृथ्बीनगर बस्ने २९ वर्षीय प्रन्नयन तामाङलाई पक्राउ गरेको छ । प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका सातै जनालाई सम्बन्धित प्रहरी कार्यालय थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।