नेभिगेशन
नेपाल प्रहरी

पोल्याण्ड पठाउने भन्दै लाखौं रुपैयाँ ठग्ने बाँकेको कम्दीका पशुपतिसहित भूमिका पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाएर पोल्याण्ड पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका-५ कम्दी घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ५२ वर्षीय पशुपती खत्री रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।  

पक्राउमध्ये भूमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रूपैयाँ र पशुपतीले १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुनाकोठीबाट र पशुपतीलाई काठमाडौं सतुंगलबाट  पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्