नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। प्रहरीले गरेको लागुऔषधविरुद्धको कारबाहीमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ सिमरास्थित राज होटेलबाट १ सय ७० ग्राम  ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा भारत विहार राज्य मोफासिल सिवाना थाना सिवाना चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुश्वाहा, भारत विहार राज्य पूर्व चम्पारण  रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत-७ बस्ने ३० वर्षीय रन्जन कुमार सिंह र भारत विहार राज्य पूर्व चम्पारण रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत-१० बस्ने ४० वर्षीय संजिव कुमार राम रहेका छन् । 

इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाराकै जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट  अफिम २ किलो ५ ग्राम सहित प्रहरीले दुई जनालाई आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-३ बस्ने ५० वर्षीय संचलाल वाईवा र मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ४८ वर्षीय हिरालाल वाईवा रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट ८ सय मिलिग्राम  खैरो हेरोइन सहित बर्दियाको राजापुर नगरपालिका-१ का २७ वर्षीय सुमन चौधरीलाई  पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे१३ प ८२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी दाङको राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३१ वर्षीय पुरन कामी समेत ३ जनालाई ४ सय ५० मिलिग्राम ब्राउनसुगर  सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मसुरियाबाट खटिएको प्रहरीले पुरनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट  ब्राउनसुगर ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-९ तोरैया बस्ने २३ वर्षीय बिनय थारूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यस्तै झापाको बिर्तामोड नगरपालिका-१ बाट प्रहरीले ६ सय ५० मिलिग्राम  ब्राउनसुगर सहित भद्रपुर नगरपालिका-४ बस्ने ३३ वर्षीय दिनेश माझीलाई  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  ।

प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका-७ पेन्चेबाट सेतो हेरोइन  २० ग्राम ६ सय ३० मिलिग्राम र ५१ हजार १ सय ७० भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत पथेल थाना राजपुर पाथेल चतरा झारखण्ड बस्ने २८ वर्षीय संजय माझी र भारत बिहार बस्ने ३७ वर्षीय राम पुलार कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले राक्सिराङबाट मनहरीतर्फ जाँदै गरेको जेएच ०३ भी ०५३९ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक संजय र गाडीमा सवार राम पुलारलाई पक्राउ गरेको हो।

त्यस्तै प्रहरीले रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ दश नम्बर चोकबाट ३ ग्राम २५० मिलिग्राम ब्राउनसुगर  सहित सोही नगरपालिका-६ बस्ने ३१ वर्षीय सागर पोखरेललाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु१२ प ९७२० नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-३ माछा भौडीबाट नियन्त्रित लागूऔषध ट्रामोल ५ सय क्याप्सुल सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय बिनय देवान, सोही उपमहानगरपालिका-१६ बस्ने २८ वर्षीय कुविर श्रेष्ठ र सोही उपमहानगरपालिका-१० बस्ने ३५ वर्षीया सृजना गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पुरानो बजारबाट रत्न चोकतर्फ जाँदै गरेको को २० प ४८१६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार सम्बन्धित प्रहरी कार्यालयले लागुऔषधसहित पक्राउ परेकाहरुविरुद्ध थप आवश्यक अनुसन्धान गरिरका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्