नेभिगेशन
नेपाल प्रहरी

तस्करी गरेर ल्याइएको २० किलो चाँदीसहित ५ जना पक्राउ

काठमाडौं । प्रहरीले २० किलो अवैध चाँदीसहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले ती ५ जनालाई पक्राउ गरेपछि भारतबाट नेपालमा चाँदीको तस्करी हुने गरेको खुलासा भएको हो । 

अवैध तस्करीको २० किलो चाँदीसहित काठमाडौं अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा भारतबाट नेपालमा चाँदी तस्करी हुने गरेको खुलेको जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्थलमार्गबाट तराईका जिल्ला हुँदै काठमाडौंसम्म ल्याएर चाँदीको अवैध कारोबार हुने गरेको खुलेको हो।

अपराध अनुसन्धान कार्यालयले चाँदी तस्करी गिरोहका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

अपराध अनुसन्धान कार्यालय ले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा बाराको कलैया नगरपालिका–८ खपरटाटा घर भएका २८ वर्षीय गणेश साह, कलैया–८ कै ३४ वर्षीय प्रेमकुमार कुशवाह, बाराकै जितपुर सिमरा उपमहानगरपालिका–१६ घर भई काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीया विपना सार्की, पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगुवा गाउँ बस्ने ३२ वर्षीय दिनानाथ साह सुनार र बाराकै कलैया नगरपालिका–८ घर भई काठमाडौं नरेफाँट बस्ने ३४ वर्षीय सन्तोषकुमार साह रहेका छन् ।

भारतबाट भन्सार छलेर तस्करी गर्दै चाँदी काठमाडौं ल्याएर बेचबिखन गर्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स पिलरले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागको कार्यालय हरिहर भवन ललितपुर बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्