नेभिगेशन
अदालत

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष लागुऔषध कारोबार मुद्दामा दोषी ठहर

काठमाडौं अदालतले पश्चिम् नवलपरासीस्थित  पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालैइ (दीपक) लागूऔषध कारोबारमा दोषी ठहर गरेको छ।

जिल्ला अदालत पश्चिम् नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई कसुरदार ठहर गरेको हो । लागुऔषध बरामद नभए पनि अध्यक्ष गुप्ता अप्रत्यक्ष संलग्न रहेको भन्दै अदालतले दोषी ठहर गरेको हो ।जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले अदालतले गुप्ता र धोबीलाई कसुरदार कायम गरेको र सजाय निर्धारणका लागि आगामी फागुन २९ गतेलाई पेसी तोकिएको सेतोपाटीलाई जानकारी दिए।

धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ । सोही मुद्दाका आरोपित रामा साह र जितेन्द्र पासवानले यसअघि नै सफाइ पाइसकेका थिए भने पाल्हीनन्दन गाउँपालिका ३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे फरार छन्।  जितेन्द्र र रामा भारत बिहारका बासिन्दा हुन् ।

लागूऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिबानाको व्यवस्था रहेको छ ।

गाउँपालिका अध्यक्ष गुप्ताको निर्देशनमा रघुनाथ प्रसाद धोबी र मन्टु भनिने विवेकप्रसाद पाण्डेले रामा र जितेन्द्रलाई लागुऔषध कारोबारमा फसाउन खोजेको अदालतले ठहर गरेको हो। 

कवाडको कारोबारमा तिर्नुपर्ने करिब एक करोड ३५ लाख रूपैयाँ बराबरको लेनदेन विवादकै कारण गुप्ताले उनीहरूलाई फसाउन खोजेको रामा र जितेन्द्रको दाबी छ ।

उक्त घटनामा तत्कालीन एसपी ऋषिराम कँडेलले राजनीतिक प्रभावमा गुप्तालाई संरक्षण गरेको आशंकामा उनको सरुवा भएको थियो ।

रघुनाथ र विवेकले २०७९ साल असार २२ गते रामग्राम नगरपालिका वडा नं. १७ पिपरिहयामा रामा र जितेन्द्र चढेको मोटरसाइकल नजिकै लागुऔषधको झोला फ्याँकेर भागेका थिए। प्रहरीले रामा र जितेन्द्रको मोटरसाइकल नजिकै लागुऔषध डाइजेपाम, नुर्फिन र फेनारगन बरामद भएको भन्दै मुद्दा चलाएको थियो। 

कवाड व्यवसाय सञ्चालन गर्दै आएका अध्यक्ष गुप्तासँग रामा र जितेन्द्रले कवाड सामानको कारोबार गर्दै आएका थिए। आरोपित गुप्ता र पीडितहरूबीच कवाड सामानको १ करोड ३५ लाख रुपैयाँ लेनदेनको विषयलाई लिएर विवाद सुरू भएको थियो।  अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट दोस्रोपटक गाउंपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्