तुलसीपुर । दाङको घोराही क्षेत्रमा चोरीका गरगहना बेच्ने श्रीमन-श्रीमतीसहित चार जना प्रहरीले पक्राउ गरेको छ।
दाङ प्रहरीले स्थानीयको घरबाट सुनका गरगहना र नगद चोरी गरेको आरोपमा घोराही उपमहानगरपालिका-१ हर्नौकका २४ बर्षीय प्रदीप भनिने बिज्ञान घर्तीलाई पक्राउ गरेको थियो ।
घोराही-१७ सिस्नेखोला सडकखण्डबाट पक्राउ परेका घर्तीले सोधपुछको क्रममा चोरी गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
ती चोरीका सुनका गरगहना घर्तीले बेच्नका लागि घोराही- १५ काठेकोहलका ३२ बर्षीय बिक्रम चौधरी र उनकी २५ बर्षीया श्रीमती प्रतिक्षा केसी प्रयोग भएको प्रहरीले जनाएको छ।
चौधरी दम्पतिले घोराही-१५ भिमसेनटोलका सुनका गरगहना बनाउने कालीगढको काम गर्ने ४१ बर्षीय सदन सुनारलाई ती गरगहना बिक्री गरेका थिए । प्रहरीले चारै जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार बिक्रम चौधरी र उनकी श्रीमती प्रतिक्षा बस्ने घरको कोठाबाट दुई लाख २२ हजार ६ सय ६५ रुपैयाँका साथै सुनको माइली तिलहरी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै सुनका गरहना किन्ने सदन सुनारको घरको कोठाबाट स्वरुप परिवर्तन गरिएको सुनको टप एक जोडा, सुनको औंठी एउटा, सुनको माइली तिलहरी एउटा बरामद गरेको डिएसपी शाहीले जानकारी दिएका छन् ।
घोराही उपमहानगरपालिका-१ हर्नौककी गीता पुन वलीको घरमा फागुन १५ गते चोरी भएको थियो । पीडितको निबेदनको आधारमा अनुसन्धान बाट स्थानीय प्रदीप भनिने बिज्ञान घर्तीलाई पक्राउ परेका थिए । प्रहरीले पक्राउ गरेकासँग थप अनुसन्धान गरिरहेको जानकारी दिदै डाँकाचोरी मुद्दा चलाउने तयारी गरेको छ।