नेभिगेशन
ट्राफिक प्रहरी

बाँकेको नेपालगञ्ज बजारमा बृहत ट्राफिक सचेतना र्याली (फोटोफिचर)

'सडक दुर्घटनाको अवस्था भयावह बन्दै गइरहेकोले नागरिक स्वयम् सचेत र सजग बन्नुपर्नेमा जोड'

बाँके नेपालगञ्जमा बृहत ट्राफिक सचेतना र्याली निकालिएको छ । नागरिकलाई सुरक्षित, सहज र मर्यादित यात्राका लागि प्रेरित गर्ने उद्देश्यले आज विहान बृहत र्याली निकालिएको हो । 

सयौंको संख्यामा उपस्थित विद्यार्थी र सरोकारवालासहित निकालिएको र्याली वीपी चोकबाट सुरु भई धम्बोझी चोकमा पुगेर समापन भएको थियो । सुरक्षित यात्रा नेपाल बुटवलको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा विभिन्न सचेतनामूलक प्ले-कार्डसहित बृहत र्याली निकालिएको थियो । त्यसक्रममा जेब्रा क्रसिंग कसरी गर्ने, जेब्रा क्रसिंगमा हुने लापर्वाहीले निम्त्याउने दुर्घटनाका विषयमा कृत्रिम घटना अभ्यास समेत गराएर प्रदर्शन गरिएको थियो । 

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेलबासेको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले सडक दुर्घटनाको अवस्था भयावह बन्दै गइरहेकोले नागरिक स्वयम् सचेत र सजग बन्नुपर्नेमा जोड दिएका छन् । 

नगर प्रमुख विष्टले प्रत्येक नागरिकले इमान्दारपूर्वक सडक अनुशासन पालना गर्नुपर्ने बताए । उनले ट्राफिक नियम पालना गरी सुरक्षित, सहज र मर्यादित यात्रा गर्न सबैलाई आह्वान गरे । सघन सहरी क्षेत्रमा ट्राफिक चाप धेरै हुने भएकाले दुर्घटनाको जोखिम बढी हुने विष्टको भनाई छ । विष्टले नेपालगञ्जमा ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गइरहेको बताए । 

कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँके प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले ट्राफिक नियमको पालना र सडक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

सुरक्षित यात्रा नेपालका कार्यक्रम संयोजक दिपक ढकालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तले गरेका थिए ।

आजै दिउँसो नेपालगञ्ज उपमहानगरपालिकाको सभाहलमा सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकाय र नागरिकको भूमिका विषयक माध्यमिक तह स्तरीय खुला बक्तृत्वकला प्रतियोगिता तथा भोलि कोहलपुर नगरपालिकाको सभाहलमा चालक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्