नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जकी युवतीसहित विभिन्न स्थानबाट २० जना लागुऔषध कारोबारी पक्राउ

काठमाडौं। प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषध बरामद अभियान अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट ७ किलो १६८ ग्राम गाँजा सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ३० र २४ वर्षीय युवक रहेका छन् । नेपाल एयरको उडानद्धारा बैङ्कक हुँदै नेपाल आएका उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरी प्रधान कार्यालय जनाएको छ।

त्यसैगरी प्रहरीले सुनसरीको दुहवी नगरपालिका-१२ पूर्व कुशाहाका ५१ वर्षीय विजय कुमार पौडेललाई अवैध  गाँजा ४ सय ५० ग्राम सहित  पक्राउ गरेको छ । प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २९ ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय मदन गुरूङ र २१ वर्षीय प्रज्वल गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र.३ ०६-००१ प ९९५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी प्रहरीले मुगुको छायाँनाथ रारा नगरपालिका-८ सल्लेरीबाट ६६० मिलिग्राम ब्राउनसुगर  सहित ३ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने १९ वर्षीय गोपाल सेजुवाल, सोही नगरपालिका-४ बस्ने २३ वर्षीय सौगात भाम र सोही नगरपालिका-५ बस्ने २७ वर्षीय आकाश परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका-१ खल्लाबाट २ ग्राम ७० मिलिग्राम खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुर्नवास नगरपालिका-१ अंशुबर्मा बस्ने २२ वर्षीय अभिसेक मोक्ताङ, कैलाली धनगढी उपमहानगरपालिका-११ धुडसुवा बस्ने २१ वर्षीय अरूण गैराल र सोही उपमहानगरपालिका-८ क्याम्पस रोड बस्ने १७ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१३ प १४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस्तै प्रहरीले रौतहटको गरूडा नगरपालिका-५  शिवनगरबाट नियन्त्रित लागूऔषध स्पास्मो २३ ट्याब्लेट सहित वृन्दावन नगरपालिका-७ बस्ने २३ वर्षीय राहुल साह रस्तोगीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको गोदावरी नगरपालिका-२ पहाड रोड डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-१८ घर भएका २५ वर्षीया ट्युङ्कल शाह समेत ३ जनालाई अवैध  खैरो हेरोइन १ ग्राम ४ सय ६० मिलिग्राम सहित  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले शाहको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

मोरङको उर्लाबारी नगरपालिका-७ मछिन्द्र चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ५० मिलिग्राम सहित झापा भद्रपुर नगरपालिका-४ बस्ने ४५ वर्षीय सन्तोष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्क पिपलबोट १० मिलिग्राम  खैरो हेरोइन सहित सोही उपमहानगरपालिका-१४ मयुरधाप बस्ने १९ वर्षीय रोजल ढुङगानालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको प्रहरीले बाप्र३-०२-०२६ प ६२७२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मकवानपुरकै हेटौंडा उपमहानगरपालिका-१० आनन्दटोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१० निउरेनी घर भएका २२ वर्षीय बिदिक घलान समेत ३ जनालाई अवैध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्राम सहित आज बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित प्रहरी कार्यालयले लागुऔषध घटनाका बारेम थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको  छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्