नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका ३ डीआईजीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । सशस्त्र प्रहरी बल प्रमुख (आईजीपी) राजु अर्यालले डीआईजीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा आईजीपी अर्यालले फागुन २० गतेको गृहमन्त्रीस्तरीय निर्णय अनुसार डीआईजीमा बढुवा भएका कृष्ण ढकाल, दीपेन्द्र कुँवर र बिष्णु भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

त्यस्तै प्राविधिक डीएसपी र विशेष बढुवा भएका सशस्त्र प्रहरी अधिकृतहरुलाई समेत आईजीपी अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जसअनुसार प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ डीएसपीमा बढुवा भएका वेद प्रकाश यादवले पनि दर्ज्यानी चिन्ह पाएका छन।

आईजीपी अर्यालले अवकाश पूर्व डीएसपीमा विशेष बढुवा भएका संजय कुमार गोईत र इन्स्पेक्टरमा विशेष बढुवा गरिएका प्रकाश सिंह ठकुरीलाई पनि आजै दर्ज्यानी चिन्ह प्रदान गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी अर्यालले बढुवा भएका उच्च सशस्त्र प्रहरी अधिकृत तथा अन्य अधिकृतलाई शुभकामना दिदै बढुवासँगै थप भएको जिम्मेवारीहरुलाई कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन् ।

आईजीपी अर्यालले भने- "सरुवा- बढुवा संगठनको नीति नियमानुसार पारदर्शी भएको हुँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले संगठनले के दिन्छ भन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावना लिएर कार्यसम्पादन गर्नुपर्छ।"

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा एआईजी नारायण दत्त पौडेल,चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल,डीआईजी कमल गिरी, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल  लगायत सशस्त्र प्रहरीका बरिष्ठ, सिनियर तथा जुनियर अधिकृतहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्