नेभिगेशन
नेपाल प्रहरी

प्रसंग नयाँ प्रहरी प्रमुख:कुशल क्षमतावान वा चितवनको मतपत्रकाण्डको आरोपदेखि सीआईबीसम्मको यात्राका?

काठमाडौं नेपाल प्रहरीले नयाँ नेतृत्व चाँडै पाउँदैछ। ३० औं प्रहरी प्रमुख बसन्तबहादुर कुँवर यहीँ चैत ५ गते अवकाश जाँदै गर्दा नेपाल प्रहरीले ३१ औं प्रहरी प्रमुख पाउन लागेको हो। करिब ८० हजार बढी कर्मचारी रहेको नेपाल प्रहरीले तीन एआईजीमध्येबाट नयाँ प्रमुख पाउन लागेको हो।

हालका प्रहरी प्रमुख कुँवरको अवकाशसँगै नेपाल प्रहरीका एआईजी दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङबाट एक जना नयाँ प्रहरी प्रमुख बन्नेछन् । एआईजी थापा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख छन्  भने एआईजी गिरी राष्ट्रिय प्रहरी प्रतिष्ठान केन्द्र प्रमुख  र तामाङ उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रमुख हुन् ।

यी तीनमध्येबाट नयाँ प्रमुख बन्दै गर्दा सरकारले क्षमतावान एआईजीबाट पक्कै पनि नयाँ प्रहरी प्रमुख नियुक्त गर्नेमा सबै आशावादी रहेको देखिएको छ। जे होस् सरकारले निष्ठावान, बौद्धिक , आरोपरहित, कुशल क्षमता भएकालाई प्रहरी प्रमुख नियुक्त गरोस् भन्ने प्रहरीभित्र र बाहिरको चासो रहेको छ।

तर अहिले नयाँ प्रहरी प्रमुख बन्न सीआईबी प्रमुख थापाले जोडबल गरेको बताइएको छ। बर्तमान सरकारको नेतृत्व नेकपा एमालेले गरेकै अवस्थामा के नेकपा एमालेले आफ्नै उम्मेदवारलाई हराउन भूमिका रहेको आरोप लागेका एआईजी थापाको समर्थन गर्छ त? भन्ने विषयले निकै चर्चा र कौतुहलता छाएको छ।

सत्तामा जोसुकै आएपनि खुशी बनाउने ‘कला’ भएका एआईजी थापाले कांग्रेस, एमाले तथा माओवादीका शीर्ष नेतालाई उनले आफ्नोमा हातमा लिएको बताईएको छ।

एआईजी थापाका  विगतका पोष्टिङ हेर्यो भने पनि त्यो थाहा हुन्छ । एसपी हुँदा उनी चितवनमा कार्यरत थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा त्यही थिए । जहाँ प्रचण्डपुत्री रेणु दाहालले चुनाव हार्ने भएपछि योजनाबद्ध रुपमा मतपत्र च्यातेर एक वडामा फेरि मतदान गरिएको थियो । त्यसमा एसपी थापाको भूमिका समेत शंकास्पद थियो ।

त्यसपछि उनका अन्य पोष्टिङ प्रशासन विभाग अन्तर्गत  खरिद तथा बजेटमा बितेको छ । सर्वेन्द्र खनाल, शैलेश थापा तथा धिरजप्रताप सिंह आइजिपी हुँदा प्रहरीमा उनकै हालिमुहाली चल्यो । पछि बढुवापछि पनि प्रशासन बिभागकै प्रमुख बने । यो क्रममा प्रहरीमा अरबौंका ठेक्का दिलाए । यस्ता ठेक्कामा प्रहरीले न्युनतम १० प्रतिशत कमिसन पाउने गरेका छन् । कतिपय ठेक्का सेटिङमा भएकाले २५ प्रतिशतसम्म कमिसन चलेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । केही खरिदको हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको छ भने केही मिलाइएको बताइएको छ । स्रोतका अनुसार थापासँग पनि आयोगले बयान लिएको थियो।

सामान्यतया प्रहरीमा कमाण्डबाट अर्को कमाण्डमा खटाइन्न । तर, एआइजी थापा जस्ता प्रहरी अधिकारीको हकमा भने यस्तो नियम लागू नै भएन। किनकी उनले लगातार तीन वटा कमाण्ड पाइसकेका छन् । बढुवा भएलगत्तै प्रहरीको खरिदसम्बन्धि हेर्ने प्रशासन विभागमा थिए । त्यहाँबाट उपत्यकाको इन्चार्ज बनेका उनी एक वर्ष कार्यकाल पूरा भएपछि सिआइबी पुगेका हुन् ।

थापाकै ब्याजका केही एआइजीले राम्रो कमाण्ड नपाउँदा एआइजी थापाले भने यसरी लगातार तेस्रो कमाण्ड पाउनुलाई प्रहरीभित्र अनौठो रुपमा हेरिएको छ। तर, एआइजी थापालाई नजिकबाट चिनेकाहरु भने यसलाई सामान्य मान्छन् । 

सिआईबीमा जानुमा एआईजी थापासँगै ठूलो समुहको स्वार्थ रहेको स्रोत बताउँछ । सिआइबीमा जग्गा प्रकरण, हिनामिना, टिकापुर जग्गा प्रकरण , ठुला ग्रुप लगायत  हाइप्रोफाइल अनुसन्धान  जोडिएका छन् । हाइप्रोफाइल व्यापारीलाई जोगाउनकै लागि उनलाई सिआइबी लगिएको उच्च स्रोत बताउँछ । देशका ठूला बिचौलिया र व्यापारीसँग एआइजी थापाको निकटतम सम्बन्ध रहेको श्रोत बताउँछ ।  एआइजी थापा भने सिआइबीमार्फत थप शक्ति आर्जन गरी प्रहरी प्रमुख हुने दाउमा रहेको श्रोत बताउँछ । उनले अहिलेको समयमा विभिन्न राजनीतिक शक्तिकेन्द्रमा ठुलै भनसुन र दबाब दिदै आएको पाइएको छ।

चितवन प्रहरी प्रमुख हुँदा विवादित बनेका थापा डीएसपी हुँदा पछाडी छुटेका थिए भने प्रहरीको एसपीबाट एसएसपी बढुवाको ४ वर्षे प्रावधानलाई संशोधन गर्दै ३ वर्षमा झार्दा थापा अगाडि आएका थिए। त्यसक्रममा एक जना एसपी राजीनामा दिएका थिए । चितवनकै चुनावको परिणामको पुरस्कार पाएरै सायद उक्त प्रावधान उनकै लागि फेरिएको हुनुपर्छ ।

त्यस्तै एआईजी गिरी पनि प्रहरी प्रमुखको दाबेदार मानिन्छन् । नेपाल प्रहरीमा ‘क्षमतावान’ अधिकृतका रुपमा चिनिने एआईजी गिरी खुकुरी होल्डर समे हुन् ।ब्यूरो ‘स्पेसलिस्ट’ मानिने एआईजी गिरी अन्तर देशीय संगठित अपराध अनुसन्धानमा बिषेश दक्खल राख्ने प्रहरी अधिकृत हुन् ।  ४ पटक युएन मिसनमा सहभागी भइसकेका गिरी विभागीय कोटाबाट काठमाडौं स्कुल अफ ल बाट कानुन संकायतर्फ एलएलएम गरिसकेका छन् ।

अत्यन्त संवेदनशील पर्सा जस्तो जिल्लाको कमाण्ड सम्हालिसकेका गिरी विशेष ब्यूरोमा रहेर आतंकवाद तथा विशेष प्रकृतिका घटनाहरूको अनुसन्धान गर्ने विशेष ब्यूरोको १ दशक बढी लामो अनुभव छ ।

प्रहरी सेवामा प्रवेश गरेसँगै इन्स्पेक्टर बेसिकको अलराउन्ड फस्ट भएका गिरी खुकुरी होल्डर हुन् । कमान्डो तालिम गरिसकेका एआईजी गिरी इन्स्पेक्टरमै हुँदा चार वर्षसम्म केन्द्रीय विशेष कार्यदलमा रहेर कार्य गरिसकेका छन। कमान्डो सकेर युएन मिसनसमेत गइसकेका गिरी विशेष ब्यूरोमै हुँदा प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए। गिरीको पहिलो डीएसपीको पोस्टिङ कालिमाटी प्रहरी कार्यालयमा रहदै गर्दा मिसनमा नाम निस्किएपछि फेरि उनी मिसन हानिएका थिए।

डीएसपीमै कार्यदलको इन्चार्ज बनिसकेका गिरी एसपी बनिसकेपछि पर्सा जस्ता जिल्लाको सफल कमान्ड गरेर फर्किएका थिए। पर्साबाट फर्किएसँगै गिरी पुनः विशेष ब्यूरोमा फर्केर सीआईबीमा गएका गएर काम गरेका थिए। सीआईबीमा हुँदा राम्रो कार्यको फल स्वरुप प्रहरी प्रधान कार्यालयले सीआईबीबाटै उनलाई कैलालीको कमान्ड गर्न पठाएको थियो।

एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि केही समय प्रधान कार्यालयमै बसेर कार्य गरेपछि उनलाई फेरि सीआईबीमा सेकेन्डम्यान बनाएर पठाइएको थियो। गिरीको कार्य कौशल र क्षमताका कारण प्रहरी प्रधान कार्यालय उनलाई काठमाडौं जस्तो जिल्लाको प्रहरी प्रमुख बनाएर पठाएको थियो। त्यहाँ पनि गिरीले राम्रो तरिकाले कार्य गर्न सफल भएका थिए।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएसँगै कोशी प्रदेशको प्रहरी प्रमुख बनेर विशेष ब्यूरोमा फर्किएर त्यसको प्रमुख भएर काम गरेका थिए। बौद्धिक, अब्बल , संगठनले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सक्ने हालका एआईजी गिरी लामो समय प्रदेश समन्यव विभागमा बस्दै हाल प्रहरी प्रतिष्ठानको प्रमुख भएर भविष्यका प्रहरी प्रमुखहरुलाई शिक्षा दिदै आएका छन् ।

विवादरहित छबि भएका एआईजी गिरी यदि ३१ औं प्रहरी प्रमुख गिरी नियुक्त भएमा प्रहरी भित्रका थुप्रै समस्या समाधान हुन सक्नेछन् भने संगठनलाई जोलन्त पाराले हाक्ने उनमा खुबी छ।  

त्यसैगरी एआईजी तामाङ पनि ३१ औं प्रहरी प्रमुखका प्रतिस्पर्धी हुन् । हालका उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रमुख रहेका  शान्त स्वभावका एआईजी तामाङलाई पनि प्रहरी प्रतिष्ठान र अख्तियारमा बसेर कार्य गरेको अनुभव छ।

इन्स्पेक्टर हुँदा विभिन्न इलाका प्रहरी र वडा प्रहरीको इन्चार्ज भएर कार्य गरिसकेका तामाङ लामो समयसम्म अख्तियारमा बसेर कार्य गरिसकेका छन्  भने एसपीमा जिल्ला प्रहरी कार्यालय बाँके र पहरा गण सामाखुसीको कमान्ड गरिसकेका छन् । 

तामाङ एसएसपी हुँदा तालिम केन्द्र प्रमुखका रूपमा कार्य गरिसकेका छन् भने डीएसपी हुँदा अर्घाखाँची,खोटाङको कमान्ड गरिसकेका छन् ।  त्यस्तै प्रहरी वृत्त कालिमाटी र इलाका प्रहरी धरानको इन्चार्ज बनेर तामाङले कार्य गरिसकेका छन् । तामाङ जागिरे दौरानमा बढीजसो तालिम केन्द्र र अख्तियारमा बसेका छन् । एसपी भएकै बेला  अख्तियार पुगेका तामाङ एसएसपीमा विराटनगर तालिम केन्द्र र पुनः अख्तियार टंगालमै गएका थिए। उनी डीआईजी भएपछि पनि अख्तियार गएका उनी विभिन्न देशका लागि शान्ति मिसन गइसकेका छन् ।

एआईजीमा बढुवा भएपछि तामाङ अपराध अनुसन्धान विभाग पुग्दै उपत्यका प्रहरी कार्यालयकी तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्यको अवकाश पछि उनी उपत्यका प्रहरी कार्यालयको कमान्ड गर्न पुगेका हुन् । 

यही अवस्थामा सरकारले कस्ता व्यक्तिलाई नयाँ प्रहरी प्रमुख बनाउछ भन्नेमा सबैको चासो हुँदा पक्कैपनि सरकारले आरोपरहित र क्षमतावानलाई नयाँ प्रमुख नियुक्त गर्नेमा सबैको ध्यान केन्द्रित बनेको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्