नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधविरुद्ध प्रहरीको अपरेसन: विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौं नेपाल प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ। जसअन्तर्गत प्रहरीले कैलालीको गोदावरी नगरपालिका-२ अत्तरीया बजारबाट खैरो हेरोइन २ ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-७  हरैया बस्ने ३१ वर्षीय बिरू साउदलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट  १ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर सहित बाजुरा बुढीगंगा नगरपालिका-१० घर भएका २२ वर्षीय एकेन्द्र साउदलाई  प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ मयूरधाप चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय विकास तिमिल्सेना, २६ वर्षीय कैलास लामा र ३२ वर्षीय प्रकाश मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट मयूरधापबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी प्रहरीले मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गबाट  ब्राउनसुगर ६ सय ९० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-११ बस्ने ३५ वर्षीय फिरोज राईलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले को २८ प ९६४६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले दाङको घोराही उपमहानगरपालिका-१३ बाट अवैध ब्राउनसुगर १ सय ३० मिलिग्राम सहित २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-२ घर भएका २६ वर्षीय  रेवन घर्ती मगर र रूकुम पूर्व भुमे गाउँपालिका-६ घर भएका २२ वर्षीय बिन्दास रोका मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी दाङको घोराही उपमहानगरपालिका-१३ बाट   चरेश २९ किलो ६ सय ९५ ग्राम सहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पूर्व भुमे गाउँपालिका-२ खावाङ घर भएका ४४ वर्षीय फर्क बहादुर घर्ती, ५३ वर्षीय रूपधन घर्ती र ६४ वर्षीय जुन बहादुर पुन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँके र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

उदयपुरको त्रियुगा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र  बुप्रेनोर्फिन १० एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २६ वर्षीय ललित चौधरी र सोही नगरपालिका-१३ बस्ने २५ वर्षीय बिदायक राई रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आँउदै गरेको प्र१-०५-००२ प १५२८ नम्बरको  स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी उदयपुरकै कटारी नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ हजार ५ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ४ सय ६० ट्याब्लेट सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा धनुषाधाम नगरपालिका-५ घर भएका ३५ वर्षीय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा नगरपालिका-१ घर भएका ४० वर्षीय दिलिप भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले ज१३ प १६१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ६० ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेट सहित २ जनालाई   पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ लाटिकोइली बस्ने २३ वर्षीय भरत बिक र सोही नगरपालिका-१ बस्ने १९ वर्षीय संजय टमटा रहेका छन् । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको कप्र ०२-००१ ख ०८६६ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका-५ बाट ब्राउनसुगर ४ ग्राम ९ मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका-४ घर भएका २० वर्षीय पारस राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बस पार्कबाट  खैरो हेरोइन ३ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा इलाम सूर्योदय नगरपालिका-५ बस्ने २३ वर्षीय प्रशिष खड्का र झापा अर्जुनधारा नगरपालिका-६ बस्ने ४० वर्षीय सुवास खवास रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

यसैगरी झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलबाट  लागूऔषध ब्राउनसुगर  १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-१ गोलधाप बस्ने ३० वर्षीय तोयनाथ वास्कोटा र सोही गाउँपालिका-२ पारागुपी बस्ने २२ वर्षीय निस्चल खत्री रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट भद्रपुरतर्फ आउँदै गरेको स ८ प ९०११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका-३ नौबस्ताबाट १ ग्राम ६६० मिलिग्राम   ब्राउनसुगर र एक थान मोबाइल सहित कोहलपुर नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरी प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-५ देउराली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय ९० ट्याब्लेट,  स्पास्पेन ६ सय २ ट्याब्लेट, मोबाइल ३ थान र नगद २ हजार ६ सय ८० रूपैयाँ सहित ४ जनालाई पक्राउ  गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर लिम्बु, १९ वर्षीय निकेश लिम्बु, १९ वर्षीया रेजिना खत्री र १९ वर्षीय सूर्य लिम्बु रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रेम बहादुरको घरबाट उक्त लागूऔषध फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।   

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ उचिडिहवा बस्ने ७६ वर्षीय किशोर मुराउलाई १ सय ५० ग्राम गाँजा सहित सहित आज बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

सम्बन्धित प्रहरी कार्यालयले लागुऔषधसँगै पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्