नेभिगेशन
ट्राफिक प्रहरी

हराएका २० वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझायो ट्राफिक प्रहरीले

काठमाडौं   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका २० वटा दुई पाङग्रे सवारीसाधन  गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

आज उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेले ६ ओटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई  हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको युएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालिमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दिपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटार लगायतका स्थानबाट  सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

आज बुझाइएका २० वटासहित ३३७ वटा सवारीसाधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३६ वटा दुई पाङ्ग्रे सवारीसाधन सहित चोरीमा संलग्न ५३ जनालाई  आवश्यक कारबाहीका लागि  प्रहरीमा  बुझाएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । आज बुझाइएका २० वटा सवारीसाधनहरु हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए । 

सवारीसाधन जिम्मा लिए पश्चात सवारी धनीहरुले ट्राफिक प्रहरीले गरेको उत्कृष्ट कार्यको सामुहिक रुपमा धन्यवाद समेत दिएका थिए ।  ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ४९९ वटा र ०८०/०८१ मा ४१७ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

ट्राफिक प्रहरीका एसपी दीपक गिरीले सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्