नेभिगेशन
सुरक्षा अपडेट

सल्यानको कालिमाटीमा भीषण आगलागी, लाखौं रुपैयाँको क्षति

सल्यान । सल्यानमा भीषण आगलागी हुँदा दुईवटा घरगोठ पूर्ण रूपमा नष्ट भएका छन् ।

जिल्लाको कालिमाटी गाउँपालिका-२, खैरिकाँडामा गएराति  भएको आगलागीका कारण स्थानीय केशलाल वली र प्रेमबहादुर विकको घर तथा उनीहरूको पशुचौपाया र मौरीघार समेत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

सल्यान प्रहरीका अनुसार राति करिब १ बजे सुरु भएको आगोले केशलाल वलीको १ गोरु, १० बाख्रा, ६ कुखुरा र २ मौरीघार नष्ट गरेको छ । उता, प्रेमबहादुर विकको १७ हजार नगद, ७ कुखुरा, १ हाँस, ३ मौरीघार र नयाँ घर बनाउन संकलन गरिएका काठपात समेत जलेका छन् ।

लत्ताकपडा, अन्नपात, भाँडाकुँडा सबै खरानी भएको छ। प्रारम्भिक अनुमानअनुसार क्षतिको कुल मूल्य करिब १० लाख रुपैयाँ रहेको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको भए पनि क्षति ठूलो भएको छ ।

आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन र प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्