काठमाडौं । नेपाल प्रहरीमा हाल ६ जना एआईजीको दरबन्दी खाली भएको छ। चैत ४ गते रातिबाट आईजीपी बसन्तबहादुर कुँवर र एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेत कडायत र जनक भट्टराई अवकाश गएपछि एआईजीको रिक्त संख्या ६ पुगेको छ।
आईजीपी कुँवर अवकाश हुँदा एआईजीबाट आईजीपी बनेका दीपक थापाको पद गरी ६ जना एआईजी रिक्त भएको हो।
६ एआईजी दरबन्दी रिक्त हुँदा पछिल्लो ब्याचका डीआईहरु कडा प्रतिष्पर्धामा छन् । डीआईजी चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन कार्की र सिद्धिविक्रम शाह एआईजीको प्रतिष्पर्धामा छन् ।
उनीहरुमा खापुङ सबैभन्दा पहिलो नम्बरमा छन् । दोस्रोमा लालमणि आचार्य रहेका छन् । २०५२ कात्तिक २७ मा प्रहरीमा प्रवेश गरेका उनीहरु दुई जना २०८० वैशाख ६ मा डीआईजी भएका थिए ।
त्यस्तै २०५२ कात्तिकमा प्रहरी सेवा प्रवेश गरेका पोखरेल २०८१ जेठमा पछिल्लो ब्याचसँग डीआईजीमा बढुवा भएका थिए । डीआईजी कार्की, डा.केसी र अधिकारी २०५४ चैत १८ मा प्रहरी सेवामा प्रवेश २०८१ जेठमा डीआईजी भएका हुन् भने शाह २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए। २०८१ मंसिरमा बढुवा हुँदा शाह आफ्नो ब्याचमा एक नम्बरमा डीआईजी भएका थिए ।
हाल डीआईजी खापुङ सीआईबीमा छन् छन् भने आचार्य मधेस प्रदेश प्रहरी प्रमुख,पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा र कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कार्यरत छ्न।
त्यसैगरी डा.केसी राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्ज, कार्की कोशी प्रदेश प्रहरी कार्यालयमा छन् । उनीहरुसँगै सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक एआईजीमा बढुवा हुने कसरतमा छन्। अहिलेको एआईजी बढुवाका लागि सबै प्रतिष्पर्धीहरु आफू निकट शक्तिकेन्द्रलाई लबिङ सुरु गरिसकेका छन् ।