नेभिगेशन
नेपाल प्रहरी

फरार प्रतिवादीसँगै धमाधम लागूऔषध कारोबारीलाई पक्राउ गर्दै बर्दिया प्रहरी

बर्दिया जिल्ला प्रहरी कार्यालय बर्दियाले फागुन महिनामा मात्रै ४० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  बर्दिया प्रहरीले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका फरार प्रतिवादीलाई पक्राउ गरेर कारागार चलान गरेको जानकारी दिएको छ।

एसपी केदार खनाल नेतृत्वको बर्दिया प्रहरीले अवैध सामग्रीविरुद्धको कारबाहीमा लाखौं रुपैयाँको भन्सार छलीको अवैध सामग्री बरामद गर्नुका साथै लागूऔषध ओसारपसार गर्ने गिरोहमाथि कडा निगरानी गर्दै धमाधम पक्राउ गर्दै आएको हो । जस अन्तर्गत कैयौं लागूऔषध कारोवारी तथा प्रयोगकर्ता पक्राउ परेका छन् ।

जनतासँग प्रहरीको सम्बन्ध अझ सुमधुर बनाउने उद्देश्यका साथ बर्दिया प्रहरीले 'प्रहरी मेरो साथी' को अवधारणासहित काम गरिरहेको छ । नागरिकको सुरक्षाका लागि तल्लीन बर्दिया प्रहरीले तस्करी नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, चोरी नियन्त्रण, दुर्घटना न्यूनीकरण लगायतका काम अहोरात्र गर्दै आउँदा जिल्लामा गलत कार्य गर्नेहरु तितरबितर भएको प्रहरीको दाबी छ ।

लागूऔषध कारबाहीविरुद्धकै अपरेसनमा जिल्ला प्रहरी कार्यालय बर्दियाले चैत ४ गते २४ ग्राम १ सय मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

बर्दियामा प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम समेत गर्दै आएको छ । जसमा लैङ्गिक हिंसा, लागूऔषध, आत्महत्या न्यूनीकरण, अल्पसंख्यकसंग प्रहरी, नागरिक सुनुवाई, समुदाय प्रहरी साझेदारी, साइबर अपराध र चोरी सम्बन्धि,  सवारी दुर्घटना न्यूनीकरण लगायतका कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी बर्दियाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्