नेभिगेशन
सुरक्षा विशेष

इमान्दारलाई भर लाग्ने र बेइमानहरुलाई डर लाग्ने गरी कार्यसम्पादन गर्ने बाँके सीडीओको उद्घोष

नेपालगञ्ज बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सिडिओ कार्यालयप्रति इमान्दारलाई भर लाग्ने र बेइमानहरुलाई डर लाग्ने बनाउने गरी कार्यसम्पादन गरिने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हालेको १५ दिनपछि बाँकेका पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले भने–‘जतिन्जेल बस्छु इमान्दारिताका साथ काम गर्छु । जिल्ला प्रशासन कार्यालयप्रति इमान्दारलाई भर लाउने र वेइमानहरुलाई डर लाग्ने बनाउँछु ।’ 

उनले मातहतका सरकारी कार्यालयहरुलाई पनि इमान्दारिताका साथ कार्य सम्पादन गर्न र नागरिकको सेवामा लाग्न निर्देशन दिएको पनि बताए । उनले आफ्नो जिम्मेवारी प्रशासनिक र अर्धन्यायिक निरुपण रहेको बताउँदै दुवै काम नीति, विधि र कानुनसम्मत गरिने प्रष्ट पारे । जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम राख्ने जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरिने उल्लेख गरेका उनले विकास निर्माणमा हुने अवरोधलाई पनि फुकाउँदै लैजाने विश्वास दिलाए । उनकै पहलमा करीब १० वर्षदेखि रोकिएको  नौवस्तास्थित औद्योगिक क्षेत्रको सिमांकनको काम आजबाट मात्रै सुरु भएको छ । उनले भने–‘प्रतिफल आउने गरी काम गर्ने हो । त्यसको प्रयास नौवस्तास्थित औद्योगिक क्षेत्रबाट सुरु भइसकेको छ ।’ 

उनले सञ्चार क्षेत्रसँगको सम्वन्धलाई प्रगाढ बनाउने प्रतिवद्धता पनि जनाए । ‘तपाई (संचारकर्मी) र हाम्रो उद्देश्य समाज सुधार गर्नु नै हो,' उनले भने–‘हामी एउटै डुंगामा छौं । गल्ती गर्ने छुट कसैलाई पनि छैन । हाम्ले गल्ती गर्दा संचारकर्मीले खवरदारी गर्ने हो । मोवाइल देखाउँदैमा, माइक तेर्साउँदैमा पत्रकार हुँ भन्दैमा कानुनमाथि जाने  छुट छैन । इथिक्समा पत्रकारिता गर्नेहरु डराउनु पर्दैन ।’ सुरक्षा समितिका सबै सुरक्षा अंगका प्रमुखहरुलाई सँगै राखेर उनले सूचनामैत्री वातावरण निर्माणका लागि प्रतिवद्धता समेत जनाए । छिटोछरितो र विश्वसनीय सूचना प्रवाह गर्ने सवालमा आफु प्रतिवद्ध रहेको उनले प्रष्ट पारे । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सुरक्षा अधिकारीहरुलाई सुझाव दिए । ‘तपाईहरु (सुरक्षा निकायका प्रमुख) राज्यका अंगहरु हो । शान्ति सुरक्षा कायम गर्ने, आम नागरिकलाई सुरक्षा दिने तपाईंहरुको दायित्व हो । यो दायित्वबाट चिप्लिन थाल्नुभयो भने पत्रकारहरुले खबरदारी गर्नेछन् । त्यसलाई त्यही अनुरुपमा बुझिदिन आग्रह गर्छु’ उनले भने । अध्यक्ष गिरीले पत्रकार आचारसंहितामा केन्द्रित भएर समाचार लेख्न समेत आग्रह गरे । ‘पत्रकारहरुका लागि पनि आफ्नै सिमारेखा छन् । त्यो सीमा नाघ्ने छुट कसैलाई पनि छैन,' अध्यक्ष गिरीले भने–‘समाचार लेखेकै कारण कोही डराउनु पर्ने अवस्था छैन । समाचार लेखेकै कारण पत्रकारमाथि हुने अन्यायविरुद्ध महासंघ सतिसाल भएर उभिन्छ । न्याय दिलाएरै छाड्छ ।’ 

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले छिटोछरितो र विश्वसनीय सूचना प्राप्त गर्ने वातावरण निर्माणका लागि भूमिका निर्वाह गर्न सुझाव दिए । उनले जिल्ला प्रशासन कार्यालयलाई मिडियामैत्री र प्रविधिमैत्री बनाउन सुझाव दिए । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज कुमार गौतम, नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी लगायतले मिडियामैत्री भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । कार्यक्रममा पत्रकारहरु विजय बर्मा, अर्जुन ओली, डक्ट प्रसाद धिताल, सावित्री गिरी, विरेन्द्र जैसी, बैकुण्ठ अधिकारी लगायतले आफ्नो धारणा राख्दै सुझाब दिएका थिए । 

त्यसक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, जिल्ला ट्राफिक कार्यालयका प्रमुख पुष्कर पन्त लगायतले बोलेका थिए । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका एसपी ओम खड्का लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्