काठमाडौं । सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरणमाको आत्महत्या दुरुत्साहन मुद्दामा सशस्त्र प्रहरीका इन्स्पेक्टर विवेक जोशी र सशस्त्र प्रहरीकै हवल्दार रेशमबहादुर शाही पुर्पक्षका लागि थुनामा गएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजलासले इन्स्पेक्टर महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा तनहुँको भानुमा रहेको सशस्त्रको नम्बर २३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक र पोखराको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हबल्दार रेशमबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत फागुन १० गते इन्स्पेक्टर महत हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै उनकै भाइ विनोदले मृत भेटिएको भोलिपल्टै किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीलगत्तै इन्स्पेक्टर विवेक ल पक्राउ परेका थिए भने प्रहरी अनुसन्धानकै क्रममा चैत ६ गते हबल्दार रेशम पनि पक्राउ परेका थिए ।
इन्स्पेक्टर महत र जोशीबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको परिवारले बताएको थियो । महतको विवाह उनले रोजेकै केटासँग गरिदिन परिवारमा सल्लाहसमेत थियो । तर, एकाएक आफू कार्यरत रहेको ठाउँमै महत मृत अवस्थामा भेटिएपछि किटानी जाहेरी परेको हो ।
‘परिवारले किटानी जाहेरी दिनेबित्तिकै हामीले इन्स्पेक्टर विवेकलाई पक्राउ गरी अनुसन्धान थालेका हौं । अनुसन्धानकै क्रममा महतसँगै लामापाटनमै कार्यरत रेशमलाईसमेत पक्राउ गरी सुक्ष्म अनुसन्धान गरेर ८ गते सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएका थियौं,’ कास्की प्रहरीका एक प्रहरी अधिकृतले भने, ‘मुलुकी अपराध संहिताको १८५ बमोजिम मागदाबी गर्दै सरकारी वकिलको कार्यालयले ९ गते अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।’
सोहीबमोजिम सोमबार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको कास्की प्रहरीले जानकारी दिएको छ। यसकिसिमको आत्महत्या गर्न दुरुत्साहन दिने कार्यमा संलग्न हुनेलाई ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेमो छ ।