नेभिगेशन
नेपाल प्रहरी

बर्दियाबाट ब्राउन सुगरसहित २ युवक पक्राउ, अवैध तस्करीको ९६ किलो कुखुरा बरामद

बर्दिया । बर्दिया प्रहरीले दुई जना युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ भने भारतबाट अवैध रुपले ल्याइएको झण्डै १ क्विन्टल बोइलर कुखुरा पनि बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार जिल्लास्थित बार्हबर्दिया नगरपालिका-५ सोनपुरका बिपीन कुमार थारु र सोही नगरपालिका-६ का सचिन सापकोटालाई आज ८ सय ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

बर्दिया प्रहरीले पक्राउ परेका दुबै युवकसँग लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

त्यसैगरी, जिल्लाको बढैयाताल गाउँपालिका-८ सावनघारीबाट जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले झण्डै १ क्विन्टल अवैध बोइलर कुखुरा बरामद गरेको छ।

भारतबाट अवैध रुपले तस्करी गरेर ल्याउँदै गरिएको ३५ हजार ६ सय रुपैयाँ बराबरको ९६ किलो कुखुरा र कुखुरा ओसार्न प्रयोग गरिएको साइकलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बरामद गरिएको कुखुरालाई आजै आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्