काठमाडौं । एक अमेरिकी महिलालाई अपहरण गरेर ४ करोड रुपैयाँ फिरौती माग गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
७० वर्षीया अमेरिकी महिलालाई पोखराबाट अपहरण गरेर चार करोड रूपैयाँ फिरौती माग गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ की ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो।
कास्की प्रहरीका अनुसार लामाले मुक्तिनाथ मन्दिर भ्रमणका लागि अकमेरिकादेखि नेपाल आएर पोखराको लेकसाइडस्थित एक होटलमा बस्दै आएकी ती ७० वर्षीया महिलालाई अपहरण गरी फिरौती माग गरेकी थिइन।
ती महिला अपहरणमा परेको भन्ने अमेरिकी राजदूतावासले प्रहरीलाई सूचना दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।
पीडित महिलालाई मकवानपुरको हेटौंडा उपमहानगरालिका वडा नं १९ नेवारपानीबाट सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा पीडित महिलालाई भारतसम्म लैजाने तयारी रहेको प्रहरीको भनाइ छ । लामाले ती महिलासँग तीन लाख यूरो अर्थात करिब चार करोड नेपाली रुपैयाँ फिरौती माग गरेकी थिइन् ।
स्रोतका अनुुसार पीडित महिलासँग लामाको सामान्य चिनजान थियो । ती महिलाले नेपालमा रहँदा घुम्ने ठाउँको बारेमा लामाले जानकारी गराएकी थिइने । सोही क्रममा पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी ती महिलालाई लामाले आफ्नो घर लैजाने भनि लगिन् । तर लामाले ती महिलालाई घर नलगि अन्यत्रै लगिन् ।
पोखराबाट चितवन, हेटौँडा हुँदै पर्सासम्म पुर्याएर लामाले ती महिलासँग चार करोड रुपैयाँ माग्दै धम्क्याउनसमेत थालेकी थिइन् । पक्राउ गरेकी लामालाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा ७ दिनको म्याद थपेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।