काठमाडौं । शुक्रवार तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनाउन मुख्य भूमिका खेल्ने दुर्गा प्रसाईंलाई प्रहरीले खोजी जारी राखेको छ। व्यवस्था उल्टाउने उद्घोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईँ यतिबेला फरार छन् ।
उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार प्रसाईँ चक्रपथ हुँदै ललितपुर तर्फ लागेको थाहा भएको छ । ती अधिकृत भन्छन्, ‘ललितपुरमा लुकेको आशंका छ, हामी खोजिरहेका छौँ ।’
प्रदर्शनमा सहभागी अर्को आयोजक समूह ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।
संयोजक दुर्गा प्रसाईँ आफैंले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयको निष्कर्ष छ । गृह मन्त्रालयका सहसचिव छवी रिजालले तीनकुनेको घटना आपराधिक भएको बताउँदै त्यसमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन् । उनी भन्छन्, ‘तोडफोड र लुटपाटमा संलग्नहरूबारे सूक्ष्म निगरानी गरिरहेका छौँ ।’
प्रसाईँलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ ।
प्रदर्शनमा नेतृत्वदायी भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ लाई प्रहरीले गए राति पक्राउ गरेको थियो ।
त्यस्तै राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका छन् । प्रहरीले अरुको पनि खोजी कार्य जारी राखेको जनाएको छ।