नेभिगेशन
नेपाल प्रहरी

तीनकुने घटनाको अनुसन्धानका लागि सूचना उपलब्ध गराइदिन नेपाल प्रहरीको अनुरोध

काठमाडौँ। राजावादीहरुले शुक्रबार चैत १५ गते  राजधानीको तीनकुनेमा गरेको हिंसात्मक गतिविधिको सामग्री र सूचना दिन सबैसँग नेपाल प्रहरीले अनुरोध गरेको छ ।

राजावादीको हिंसात्मक आन्दोलनका क्रममा निजी तथा सरकारी सम्पत्तिमाथि तोडफोड, आगजनी, लुटपाट र अन्य गैरकानूनी गतिविधि भएको भन्दै सो घटनाको अनुसन्धान सघाउ पुर्याउने गरी सामग्रीहरु उपलब्ध गराउन प्रहरीले सबैसँग अपील गरेको हो । 

राजावादीहरुले काठमाडौँको तीनकुने, कोटेश्वर, जडिबुटी लगायतका क्षेत्रमा गरेको तोडफोड, आगलागी लगायतका हिंसात्मक गतिविधिका क्रममा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, दलको कार्यालय र व्यापारिक केन्द्रहरुमा क्षति गर्नुका साथै सवारी साधन जलाउने, पसलहरु लुट्ने तथा सरकारी सम्पत्तिमा क्षति पुर्याउने गरेसँगै कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीले दोषी पहिचान हुने सामग्रीहरु उपलब्ध गराउन आग्रह गरेको हो । 

प्रहरीले दोषी पहिचानका लागि तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गराउन आग्रह गरेको हो । सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्दै प्रहरीले नागरिकलाई सुरक्षा र गोपनीयता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै घटनाका दोषीहरूमाथि कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त हिंसामा दुई जनाको ज्यान गएको छ । थुप्रै घाइते भएका छन् । १११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मुख्य नाइके विवादित मेडिकल व्यवसायी एवं फौजदारी मुद्दाका अभियोगी दुर्गा प्रसाईं भने फरार छन् । 

उनलाई प्रहरी आठ समूह बनाएर खोजी गरिरहे पनि पक्रन सकेको छैन । यस्ता सूचनाहरुसमेत दिन प्रहरीले आम नागरिकसँग अपील गरेको हो । 

प्रहरीले मुलुकलाई शान्ति राख्न र अमनचयन कायम गर्नका लागि प्रतिबद्ध रहेकोसमेत बताएको छ । यद्यपि नागरिकको साथ खोजिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्