काठमाडौं । नेपाल प्रहरीले लागुऔषधसहित दाङसहित विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ। लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले दाङबाट एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका-९ चुलिसेबाट ३ सय ५० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २० वर्षीय सागर सुनारलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै महोत्तरीको एकडारा गाउँपालिका-४ चकवाबाट ५ सय ग्राम गाँजासहित मनरा शिसवा नगरपालिका-९ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरीले म.प्र.०२-००५ प ८९६३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार अन्य १ जनाको खोजी गरिरहेको प्रहरी प्रधान कार्यालय जानकारी दिएको छ ।
प्रहरीले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१४ बुद्दबस्तिबाट नियन्त्रित लागूऔषध स्पास ६ क्याप्सुल सहित सोही नगरपालिका-४ बस्ने १९ वर्षीय साजिर हुसेनलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले लु१९ प ७८६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त लागूऔषध प्रतापपुर गाउँपालिका-१ भिठ्ठाबाट ल्याएको खुल्न आएपश्चात प्रतापपुर नगरपालिका-१ भिठ्ठा बस्ने ४५ वर्षीया कमला ठकुरीको घरबाट स्पास १२ क्याप्सुल, ओरेक्स एक सय एमएलको ८ बोतल फेला पारी कमलालाई समेत प्रहरीले पक्राउ गरेको छ । साथै सोही ठाउँ बस्ने विनोद कहारको घरबाट नाईट्राफल्स २ सय ७० पिस, नाईट्राभेट २ सय २५ ट्याब्लेट, ओरेक्स एक सय एमएलको १८ बोतल र स्पास ४ सय २० क्याप्सुल समेत प्रहरीले बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-१२ शनि मन्दिरस्थितबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट सहित सोही नगरपालिका-१२ बस्ने १९ वर्षीय रोहित झा समेत २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
लागुऔषधसहि पक्राउ परेकाहरुसँग सम्बन्धित प्रहरी कार्यालयले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।