नेभिगेशन
सशस्त्र प्रहरी

अवैध तस्करीविरुद्ध एसपी केसी आक्रामक, कमाण्ड सम्हालेको डेढ महिनामा करोडौंको अवैध सामग्री बरामद

बारा सीमा सुरक्षा, सीमा अपराध, अवैध ओसारपसारविरुद्ध कार्य गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले  जिल्लाबाट साढे २ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

बारास्थित सशस्त्र प्रहरी बलमा एसपी खुम केसीले कमाण्ड सम्हालेको डेढ महिनाको अवधिमा अवैध तस्करीविरुद्ध खरो रुपमा उत्रिएको सशस्त्र प्रहरीले २ करोड ५० लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

'अवैध तस्करी शून्य' भन्ने लक्ष्यका साथ अगाडि बढेका एसपी केसीको कडा निर्देशन बमोजिम जिल्लाभरका सीमा सुरक्षा गुल्म, बिओपी र सुरक्षा बेसहरुले सीमामा निगरानी बढाउँदै धमाधम अवैध सामग्री बरामद गर्दै आएका छन् । जिल्लाका विभिन्न सीमा नाकाहरुवाट हुने अवैध चोरी निकासीलाई न्यूनीकरण गर्न गण अहोरात्र खटिरहँदा ट्रकसहित ३ क्विन्टल गाँजा र जीपसहित ८ किलो लागुऔषध अफिम समेत बरामद भएको छ ।

सोही अवधिमा सशस्त्र प्रहरीले ठूलो परिमाणको लत्ताकपडा, हार्डवेयर्सका सामग्री, खाद्यान्न, बोइलर कुखुरा, अवैध अण्डा, विभिन्न किसिमका किराना सामग्री, अवैध काठ, रासायनिक मल, अवैध तस्करीमा प्रयोग भएका २५ थान भारतीय नम्बर प्लेटका मोटरसाइकल लगायतका सामग्री बरामद गरी आबश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले बारामा विपद् व्यवस्थापनतर्फ आगलागी नियन्त्रण र सवारी दुर्घटनामा प्रभावकारी कार्य सम्पादन गर्दै जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

'सीमावासीसँग सशस्त्र प्रहरी' भन्ने अभियान अन्तर्गत जिल्लामा सशस्त्र प्रहरी बल नम्बर १२  गणले सामुदायिक विद्यालयको रङ्गरोगन, शुद्ध पिउने पानीको धारा जडान, स्थानीय युवाहरुमा उद्यमशिलताको विकासका लागि पेन्टिङ र रोजगारतर्फ कपाल काट्ने तालिम समेत सञ्चालन गरिसकेको छ भने आगामी दिनहरुमा पनि सीपमूलक तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्