सौरभ गिरी,नेपालगन्ज । डीआईजी प्रदीप कुमार पालको कमाण्ड रहेको सशस्त्र प्रहरी बल नं.५ विन्ध्यावासिनी बाहिनी रुपन्देही मातहतको सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशभरबाट डेढ महिनाको अवधिमा झण्डै साढे ५ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।
.jpg)
सीमा सुरक्षा, सीमा अपराध, अवैध ओसारपसारविरुद्द र शान्ति सुरक्षा लगायतका कार्य गर्दै आएको सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासी देखि बर्दियासम्मको लामो सीमा भएको लुम्बिनी प्रदेशमा गरेको अवैध तस्करीविरुद्धको कारबाहीमा ५ करोड ३९ लाख १० हजार ९५७ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं.५ विन्ध्यावासिनी बाहिनी रुपन्देहीका सहायक बाहिनीपति तथा सूचना अधिकारी एसएसपी कमल प्रसाद तिउसीनाले जानकारी दिएका छन् । बरामद गरिएको सबै अवैध सामग्री आबश्यक कारबाहीका लागि सम्बन्धि जिल्लाका भन्सार कार्यालयमा बुझाइएको तिउसीनाले बताए।

लुम्बिनी प्रदेशमा अबैध चोरी निकासी पैठारी नियन्त्रणमा सक्रिय रुपले अगाडी बढेको सशस्त्र प्रहरीको फागुन १ गते चैत १७ सम्म बरामदी विवरणमा सबैभन्दा अगाडि बाँके जिल्ला रहेको छ। बाँकेस्थित सशस्त्र प्रहरी नं.३० गण बागेश्वरी बाँकेले डेढ महिनाको अवधिमा १ करोड ७७ लाख ९ हजार २०१ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। बाँकेमा हाल सशस्त्र प्रहरी प्रमुखमा एसपी शोभाकान्त खनाल छन् ।

त्यसैगरी दोस्रोमा रहेको रुपन्देहीस्थित सशस्त्र प्रहरीले १ करोड ४२ लाख ३१ हजार ८० रुपैयाँ बराबरको अवैध तस्करीको सामग्री बरामद गरेको एसएसपी तिउसीनाले बताए। हाल त्यहाँस्थित सशस्त्र प्रहरी बल नं.२७ गणको एसपी मेखराज जोशीले कमाण्ड सम्हाल्दै आएका छन्।

कपिलवस्तुस्थित सशस्त्र प्रहरी बल नं.२८ गणले पनि डेढ महिनाको अवधिमा राम्रो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ। फागुन १ देखि चैत १७ गतेसम्मको अवधि कपिलवस्तु सशस्त्र प्रहरीले ९८ लाख ५६ हजार ३०७ रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो। तेस्रो स्थान्मा रहेको कपिलवस्तु सशस्त्र प्रहरीको नेतृत्व एसपी नेत्र केसीले गरिरहेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको सबैभन्दा पूर्वी जिल्ला पश्चिम् नवलपरासीस्थित सशस्त्र प्रहरी चौथोमा रहेको छ। सोही अवधिमा पश्चिम् नवलपरासीबाट ८४ लाख ७५ हजार ५७० रुपैयाँ बराबरको अवैध सामाग्री सशस्त्र प्रहरीले बरामद गरेको सूचना अधिकारी तिउसीनाले जानकारी दिए। उनका अनुसार त्यहाँको सशस्त्र प्रहरी बल नं. २६ गणको कमाण्ड एसपी सन्तोष रायमाझीले गर्दै आएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको सबैभन्दा पश्चिममा रहेको बर्दियाबाट सशस्त्र प्रहरी बल नं.३१ गणले गत फागुन १ देखि चैत १७ गतेको अवधिमा ३१ लाख ८२ हजार ३७२ रुपैयाँ बरामदको सामग्री गरेको छ। हाल सशस्त्र प्रहरी बर्दियाको नेतृत्व एसपी मान बहादुर शाहीले गर्दै आएका छन् ।

कोइलाबास गढवा एउटा मात्रै नाका रहेको दाङबाट सशस्त्र प्रहरीले ४ लाख २२ हजार ४२७ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको विन्ध्यावासिनी बाहिनीले जानकारी दिएको छ । त्यहाँ स्थित सशस्त्र प्रहरी बल नं.२९ ज्वालामाई गण भालुबाङको कमाण्ड एसपी मनोज धितालले गरिरहेका छन् ।
एसएसपी तिउसीनाले दिएको जानकारी अनुसार प्रदेशभर सशस्त्र प्रहरीले 'सीमावासीसँग सशस्त्र प्रहरी' कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।