काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न स्थानबाट चोरी भएका २० वटा दुई पाङग्रे सवारी साधन ( मोटरसाईकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले १३ वटा मोटरसाइकल र ७ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाकोजगाती,चुनदेवी,बानेश्वर,गौरीघाट,मंगलबजार,ईमाडोल,लुभु,सोह्रखुट्टे,कंलकी,नयाँबसपार्क,बाफल,थली, नेपालटार र मुलपानी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका २० वटा सहित ३८६ वटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३७ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५४ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । आज बुझाइएका २० वटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए ।
सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
आर्थिक वर्ष २०७९/०८० मा ४९९ ओटा र ०८०/०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको ट्राफिक प्रहरीले जनाएको छ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विनोद घिमिरेले अनुरोध समेत गर्नुभएको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।