नेभिगेशन
नेपाल प्रहरी

दुर्गा प्रसाईं औपचारिक रुपमा नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले औपचारिक रुपमा पक्राउ गरेको छ। राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई भारततीय प्रहरीले पक्राउ गरी आज बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएर नेपाल प्रहरीलाई सुम्पेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सुरक्षा दिएर उनलाई अहिले भद्रपुर विमानस्थलतर्फ लगेको छ। प्रहरी स्रोतका अनुसार प्रसाईंलाई केही समयभित्रै बुद्ध एयरको विमानबाट काठमाडौं पठाइने तयारी भइरहेको छ।

प्रसाईंलाई नेपाल ल्याइँदै गरेको खबरपछि आज बिहानैदेखि मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरूको ठूलो भीड लागेको थियो।

१५ चैतको प्रदर्शनमा हिंसा भड्काएपछि प्रसाईं फरार भएका थिए। नेपाल प्रहरीको विशेष ब्यूरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारतसम्म पुगेका थिए।

राजावादीको उक्त हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई समेत कुल्चिने प्रयास गर्दै गाडी चलाएको आरोप छ। उनका समर्थकहरूले काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चार माध्यमका कार्यालय र व्यापारिक केन्द्रहरू गरी ४० वटा संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट मच्चाएका थिए। सो क्रममा सार्वजनिक र निजी गरी ६९ वटा सवारी साधनमा क्षति पुगेको थियो भने दुई जनाको ज्यान गएको थियो र १२९ जना घाइते भएका थिए, जसमध्ये पाँच जना अझै अस्पतालमा उपचाररत छन्।

प्रसाईं फरार भए पनि प्रहरीले यसअघि नै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रव जस्ता गम्भीर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रसाईंको पक्राउलाई उक्त घटनाको अनुसन्धानमा महत्वपूर्ण सफलताको रूपमा लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्