काठमाडौँ ।चैत १५ गते राजावादीहरुको आन्दोलनमा हिंसा मच्याउन उक्साएको अरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । बिहीवार साँझ भारतमा पक्राउ परेर आज नेपाल ल्याई दिउँसो काठमाडौँ जिल्ला अदालतमा समय थपका लागि प्रहरीले लगेकामा अदालतले १२ दिन हिरासतमा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रसाईंलाई कारबाही गर्न यतिबेला प्रहरीले विभिन्न मुद्दा लगाउनेबारे तयारी गरिरहेको छ । गत चैत १५ गते राजावादीहरुको आन्दोलनमा हिंसा मच्याउन उक्साउने उक्त आन्दोलनका नाइके प्रसाईं तीनकुनेमै निषेधित क्षेत्रमा गाडी हुँइकाउँदै कार्यकर्तालाई उक्साएर आफू भागेका थिए ।
उनलाई प्रहरीले १५ गतेदेखि नै खोजी जारी राखेको भए पनि सफल हुन सकेको थिएन । कहिले ललितपुर त कहिले हेटौँडातिर रहेको शंकाबीच प्रहरीले उनलाई खोजी जारी राख्यो ।
अन्ततः उनकी भारतको असामबाट भारतीय प्रहरीको नियन्त्रणमा परेका हुन । भारतीय प्रहरीले सामको गुवाहाटीबाट नियन्त्रणमा लिएर नेपालको सीमा क्षेत्रमा छाडेपछि नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाउने तयारी गरेको हो ।
प्रहरी स्रोतका अनुसार उनी भारतमा रहेको शंकाबीच विगत एक सातादेखि भारतको असामस्थित गुवाटीमा तन्ना र चटपटे बेचिरहेका नेपाली सुरक्षाकर्मीले लोकेशन ट्र्याक गरेर भारतीय प्रहरीलाई सूचना दिएपछि बिहीबार उनलाई नियन्त्रण लिइएको थियो ।
दुर्गा प्रसाईंको खोजीमा गएका नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेका थिए । भारतीय प्रहरीकै सहयोगमा उनलाई नियन्त्रणमा लिन सफल भएसँगै काठमाडौँ ल्याएर काठमाडौँ जिल्ला अदालतमा पेश गरी समय थपेर अनुसन्धान थालिने छ ।
तत्काल उनलाई ज्यान मार्ने अपराधमा मुद्दा चलाउने तयारी रहेको भए पनि विभिन्न मुद्दा उनीमाथि आकर्षित हुन सक्ने देखिएको छ । उनीमाथि ज्यान मुद्दा, चोरी तथा डकैती, निजी सम्पत्ति तोडफोड तथा आगजनी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी, ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण तथा संगठित अपराधमा अनुसन्धान हुने बताइएको छ ।
राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुँदाएका थिए । उनको उक्त दुस्साहससँगै उनका कार्यकर्ता हौसिएका थिए । त्यसपछि प्रसाईं बेपत्ता भए पनि उनका कार्यकर्ताले भने विभिन्न सार्वजनिक तथा निजी भवन तोडफोड गरेका थिए ।
साथै आगजनीसँगै लुटपाटसमेत भएको थियो । सार्वजनिक तथा निजी गरी करिब छ दर्जन सवारी साधनमा क्षति पुर्याइएको थियो ।
उक्त तीनकुनेको हिंसात्मक घटनामा पत्रकार सुरेश रजकसहित दुई जनाको ज्यान गएको थियो भने एक सय २९ जना घाइते भएका थिए । घाइते धेरैजसोलाई निको भएको छ । अझै केही अस्पतालमै छन् ।
प्रहरीले प्रसाईंलाई सोही दिनदेखि खोजी गरे पनि भगुवा भागेर भारत पुगेका थिए । यद्यपि प्रसाईंले आफू भागेर कतै नजाने, मर्न नडराउने जस्ता उत्तेजक सन्देश दिँदै कार्यकर्ता उचालेका थिए ।
१५ गतेको उक्त घटनामा जिम्मेवार ठहर्याउँदै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र माहमन्त्री डा धवलशमशेर राणालाई भने पक्राउ गरेको छ । उनीहरुको तीन दिन म्याद थपिइसकेको छ ।
अहिलेसम्म प्रहरीले हिंसात्मक घटना, लुटपाट, आगजनी लगायतमा संलग्न भएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। अन्यको पनि अनुसन्धान भइरहेको छ । यो अवस्थामा भागेर भारत गएका विवादित मेडिकल व्यवसायीसँगै सर्वसाधारणलाई उक्साउँदै आएका प्रसाईंलाई कस्तो कारबाही होला भन्ने चाँसो व्याप्त छ ।
उनले तीनकुने घटना हुनु अघिल्लो रात निर्मल निवासमा पुगेर पूर्वराजालाईसमेत भेटेर आन्दोलन चर्काउनु पर्छ भन्ने सहमति गराएको दाबी गरिएको छ ।