नेभिगेशन
नेपाल प्रहरी

शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु, तीन पक्राउ

कपिलवस्तु जंगलमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ।  शिकार खेल्न गएका अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट दुई थान बन्दुकसमेत बरामद गरेको छ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका-९ गब्दहवाका ३४ वर्षीय रामबहादुर थारू, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारू रहेका छन् । तीनै जनालाई कपिलवस्तुस्थित इलाका प्रहरी कार्यालय गोरुसिंगेले पक्राउ गरेको हो ।

चैत ३० गते आइतबार दिउँसो उनीहरु शिकार खेल्न  गएका थिए। शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट हानिएको गोली लागेर शिकार खेल्न गएका कपिलवस्तुकै गब्दहवाकै २८ वर्षीय समुन्द्र गाहा मगरको मृत्यु भएको थियो। प्रहरीका अनुसार पक्राउ पर्ने प्रमेशले बन्दुक लुकाउन सहयोग गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार शिकार खेल्न गएका समुन्द्र गोली लागेर घाइते भएको अवस्थामा रामबहादुर र कालुले उनलाई  उपचारका लागि भैरहवा मेडिकल कलेजमा ल्याएका थिए । अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले समुन्द्रलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

कपिलवस्तु प्रहरीले पक्राउ परेकाहरुविरुद्द ज्यान मार्ने कसुरमा थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्