मंसूर अली इद्रिसी / बाँके । नेपालगञ्ज भन्सार कार्यालयमा मिति हेरफेर गरी पुराना ट्रकका पार्टपुर्जा अवैध रूपमा भन्सार कटाइएको खुलासा भएको छ। भारतबाट ल्याइएको पुरानो ट्रकको गियरबक्स र एक्सेल बुम प्रज्ञापन पत्रको मिति परिवर्तन गरी भन्सारमा देखाइएको पाइएपछि सो अनियमितता बाहिर आएको हो।
यस विषयमा खोज अनुसन्धान गर्ने क्रममा एक ट्रक चालकसँगको कुराकानीबाट महत्वपूर्ण सूचना प्राप्त गरिएको हो। ट्रक चालकको नाम नछाप्ने सर्तमा ट्रक चालकका अनुसार भारतमा गियरबक्स र एक्सेल बुमको मूल्य करिब सात लाख रुपैयाँ पर्ने बताइएको छ। तर नेपालगञ्ज भन्सार कार्यालयमा भन्सार गर्दा प्रस्तुत गरिएको प्रज्ञापन पत्रमा वैशाख १ गतेको मिति देखाइएको छ। यद्यपि बैंक दाखिला गरिएको कागजातमा भने वैशाख ३ गतेको मिति उल्लेख गरिएको छ र जम्मा ५ हजार रुपैयाँ मात्र तिर्नु परेको देखिन्छ।
मिति फरक देखिनुले स्पष्ट हुन्छ कि भन्सार प्रक्रियामा हेरफेर गरिएको हो। प्रज्ञापन पत्रको मिति पुरानो बनाई सामान पहिले नै भन्सार भइसकेको देखाउने प्रयत्न गरिएको हो, जसबाट सरकारलाई ठूलो मात्रामा राजस्व नोक्सानी पुगेको अनुमान गर्न सकिन्छ। यसले गर्दा यात्रु शाखामा खटेका भन्सार कर्मचारीको मिलुमतो रहेको प्रष्ट बुझिन्छ।
यो घटनाबारे जब नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलसँग सञ्चारकर्मीहरूले प्रश्न गरे, उनले भने, “हामीले यो विषयमा जानकारी लिनेछौं। यदि कर्मचारीको संलग्नता भेटियो भने कानूनी प्रक्रिया अनुसार कारबाही हुनेछ।" स्रोतका अनुसार, यो कार्यमा भन्सारका केही कर्मचारीहरूको प्रत्यक्ष संलग्नता देखिएको छ। भारतबाट ल्याइएको गियरबक्स र एक्सेल बुम नेपाल प्रवेश गर्दा जमुनाहा नाकामा सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा शंका लागी भन्सारसम्बन्धी कागजात माग गरेको थियो। चेकजाँचका क्रममा पुरानो मिति भएको प्रज्ञापन पत्र र नयाँ मिति भएको बैंक दाखिलाको कागज मात्रै फेला परेको थियो।

स्रोतले जानकारी दिएअनुसार भन्सार कटाउने क्रममा कर्मचारीहरूले सेटिङ मिलाएर अवैध सामानलाई कानुनी बनाइदिने कार्य गर्दै आएका छन्। मिति हेरफेर गरेर भन्सार छल्ने यस्ता गतिविधिहरू कुनै एकपटकको मात्र नभई नियमित प्रक्रियाको रूपमा हुँदै आएको आशंका गरिएको छ।
सशस्त्र प्रहरीले सामान बरामद गर्ने बेलामा अन्य कुनै पनि प्रमाण नपाई गियरबक्स, एक्सेल बुम र भन्सार प्रज्ञापन पत्र तथा बैंक दाखिलाको कागजात मात्र फेला परेको थियो। पछि ती सामान आफूहरूकै भएको दाबी गर्दै गाडीको कागजात समेत पेश गरिएको देखिएको छ।
सशस्त्र प्रहरी बल बाँकेका अनुसार, बरामद गरिएको सामान नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको छ। यस्ता घटनाले राजस्व प्रशासनको पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ।
सरकारले यस्ता घटनामा गहिरो अनुसन्धान गर्दै संलग्न कर्मचारी तथा व्यापारीलाई कडा कारबाही नगरेसम्म यस्ता कार्यहरू दोहोरिइरहने निश्चित देखिन्छ। भन्सार प्रणालीको समग्र संरचना र कार्यशैलीको पुनरावलोकन गर्नु अहिलेको आवश्यकता भएको सरोकारवालाहरूको भनाइ छ।