नेभिगेशन
नेपाल प्रहरी

शिकार खेल्न गएका २४ वर्षीय युवकको गोली लागेर मृत्यु,१० जना पक्राउ

धनगढी । शिकार खेल्ने  क्रममा बन्दुकको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार   डोटीको बडीकेदार गाउँपालिका-२, बर्छैनका २४ वर्षीय नरेश सार्कीको शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको हो।

उक्त घटना प्रहरीले १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका-१, बेडुपाटा खोलाको किनारमा शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर सार्कीको मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका नरेश सार्की, बडीकेदार–२ बर्छैनका तपन सार्कीका छोरा रहेको प्रहरीले जनाएको छ।

शिकारका लागि लिएको भरुवा बन्दुक अचानक पड्किँदा नरेश सार्कीको दायाँ छातीमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी खड्यौलीका प्रमुख विरादत्त पन्तले जानकारी दिएका छन् ।

उक्त बन्दुक बडीकेदार–१ रजेडका ४८ वर्षीय कमल सिंह खड्काले बोकेका थिए। घटनामा संलग्न रहेका बडीकेदार गाउँपालिका–१ रजेडका कमल सिंह खड्का वर्ष (४८), खेम खड्का वर्ष (२६), तारा सिंह खड्का वर्ष (५२), बडीकेदार–२ बर्छैनका तेजेन्द्र भाट वर्ष  (३९), अम्मर शाह वर्ष (४०), चक्र भाट वर्ष (३१), सुनील बम वर्ष (१८), गणेश घर्तीमगर वर्ष  (३७), मान बहादुर शाह वर्ष (७१), तथा बडीकेदार–२ गर्भुजाका जुलेश नामजाली मगर वर्ष  (२६)लाई प्रहरीले पक्राउ गरेको डोटी प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ गरेका सबैसँग घटना बारेम थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्