काठमाडौं । प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ।जसअन्तर्गत प्रहरीले काठमाडौं महानगरपालिका-६ सिमलटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय १४ एम्पुल, फेनारगन ३ सय ८ एम्पुल, नुर्फिन ३ सय १० एम्पुल, मोबाइल २ थान र नगद ५९ हजार ७ सय ५० रूपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३५ वर्षीय जिवन प्रधान र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका(३ घर भई काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने ३५ वर्षीय अकुंश तामाङ रहेका छन् । प्रहरी वृत्त महाराजगंज, प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनबाट खटिएको संयुक्त टोलीले जिवनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-३ शिशा पोष्ट नजिकबाट १ ग्राम १४० मिलिग्राम खैरो हेरोइन सहित गोदावरी नगरपालिका-२ बस्ने २७ वर्षीय सागर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट र स्पास्पेन ८० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीया सीमा राई समेत २ जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी प्रहरीले कास्कीको पोखरा महानगरपालिका-१० गौरीमार्गबाट नियन्त्रित लागूऔषध टापेण्टाडोल ४० ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने २० वर्षीया एलिसा बुढाथोकी मगर र सोही ठाउँ बस्ने तनहुँ घर भएका १९ वर्षीय सुसान परियार रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले एलिसालाई ३३ ट्याब्लेट र सुसानलाई ७ ट्याब्लेट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापाको विर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ५८ ग्राम ५ मिलिग्राम गाँजा सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय रवि दास र विर्तामोड नगरपालिका-३ बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भएका ३४ वर्षीय सन्तोष लिम्बु रहेका छन् । प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले रविको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालई पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित भैरहवा विद्युत अफिस नजिकैबाट २ ग्राम २१० मिलिग्राम ब्राउनसुगर सहित सिद्धार्थनगर नगरपालिका-१ रानीगाउँ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका(५ डाईभरटोल घर भएका ३५ वर्षीय हिरालाल पासीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु१८ प ४१२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बागलुङको ढोरपाटन नगरपालिका-१ रिभरहेडस्थित मिना खाजा घरबाट ४ सय ६० ग्राम गाँजाको सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिपलभ थापालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा काउण्टरमा लुकाई छिपाई राखेको उक्त गाँजाको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो ।
सम्बन्धित प्रहरी कार्यालयले पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान जारी राखेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।