नेभिगेशन
नेपाल प्रहरी

टिकटक बनाउने भनेर बोलाए,पछि खोलामा लगेर गोली हानेर हत्या गरे

रौतहट जिल्ला प्रहरी कार्यालय रौतहटले  १४ वर्षीय बालकको गोली हानेर हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।

प्रहरीले दिएको जानकारी अनुसार जिल्लास्थित वृन्दावन नगरपालिका-७ का १४ वर्षीय बालक कृष्णप्रसाद यादवको हत्या आरोपमा २५ वर्षीय नागेन्द्र सहनी, २२ वर्षीय साधु भन्ने नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र वडा नम्बर ८का अनिल साहलाई पक्राउ गरेको हो।

बालक हत्या घटनामा नागेन्द्र सहनी मुख्य अभियुक्त हुन्। साधु भन्ने यसमा सहायक भूमिका खेल्ने व्यक्ति रहेको रौतहट प्रहरीले जनाएको छ। त्यसैगरी विकासले मृतकको मोटरसाइकल ५ हजारमा किनेका थिए। अनिल साह भने ग्यारेज पसल भएका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ।

रौतहट प्रहरीका अनुसार कृष्णप्रसाद वैशाख ६ गते अपराह्न ४ बजेतिर बिआर०५डब्ल्यु ०१३७ नम्बरको मोटरसाइकल लिएर घरबाट निस्किएका थिए। तर उनी त्यसदिन घर फर्किएनन्। केही दिनसम्म पनि घर नफर्किएपछि परिवार इलाका प्रहरी कार्यालय गरूडा पुगेर निवेदन दिएका थिए।

कृष्णप्रसादको खोजीकै क्रममा गरूडा नगरपालिका-८ स्थित चाँदी खोलामा वैशाख ११ गते शव फेला परेको प्रहरीले जनाएको छ। उनको छाती र पेटमा गोली लागेको, सडिगलेको र बिभत्स शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

रौतहट प्रहरीले शव फेला परेको खबरपछि अनुसन्धान सुरू गरेको थियो। अनुसन्धानकै क्रममा प्रहरीले ४ जनालाई पक्राउ गरेको एसपी दिलीप घिमिरेले जानकारी दिएका छन् । एसपी घिमिरेका अनुसार घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको छ। एसपी घिमिरेले दिएको जानकारी अनुसार  कृष्णप्रसाद र नागेन्द्र सहनीको परिवारबीच पुरानो रिसिइबी थियो।

कृष्णप्रसादका बुवाले इँट्टाभट्टा सञ्चालन गर्थे। त्यहाँ रहेको पानीमा डुबेर नागेन्द्रकी भतिजीको मृत्यु भएको थियो। त्यही विषयलाई लिएर कृष्णप्रसादको हत्या गरेको उनको परिवारको आरोप छ। त्यस्तै तीन वर्षअघि मृतक कृष्णप्रसादकै बुवालाई नागेन्द्रका दाइ धर्मेन्द्रले अपहरण गरेको आरोप लागेको थियो। उक्त घटनामा मुद्दा समेत दर्ता भएको थियो। तर त्यसयता धर्मेन्द्र फरार छन्।

यही रिसइबीका कारण नागेन्द्रले कृष्णप्रसादको हत्‍या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।वैशाख ६ गते टिकटक बनाउने भनेर नागेन्द्र र साधुले कृष्णप्रसादलाई फोन गरेर बोलाएका थिए। उनले चाँदी खोलामा जाने भनेर बोलाएका थिए।  मोटरसाइकल चलाएर आउँदै गरेका कृष्णप्रसादलाई रोकेर उनीहरूले नियन्त्रणमा लिएको एसपी घिमिरेले बताए।

‘कृष्णप्रसादलाई रोकेर नियन्त्रणमा लिए। मोबाइल पनि खोसे। त्यसपछि मोटरसाइकलमा तीन जना बसेर चाँदी खोलामा गएका थिए,’ उनले भने। घटनास्थल पुगेपछि साधुले कृष्णप्रसादलाई धकेलेर लडाएका थिए। नागेन्द्रले भने उनको छातीमा दुई राउण्ड गोली हानेर हत्या गरेका थिए।

घटनापछि दुबै जना कृष्णप्रसादको मोटरसाइकल लिएर भागेका थिए। भागेर उनीहरू दुर्गाभगवती गाउँपालिका-५ स्थित साधुको बहिनी ज्वाइको घरमा पेस्तोल लुकाएको अनुसन्धानबाट खुलेको हो। त्यस्तै मोटरसाइकलको पनि नम्बर प्लेट भाँचेर भित्र गाडेका थिए।

भोलिपल्ट (वैशाख ७) गते बिहान विकास पटेललाई पाँच हजार रुपैयाँमा मोटरसाइकल बेचेको भेटिएको थियो। 

प्रहरीले मोटरसाइकल र कटुवा पेस्तोल बरामद गरेको छ। प्रहरीले आइतबार घटनाबारे पत्रकार सम्मेलन गरी जानकरी दिएको थियो। पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान  मुद्दामा ७ दिन म्याद थपेर प्रहरीले थपअनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्