नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाँकेले सञ्चालन गरेको लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान २०८१ बारे समिक्षा गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको अध्यक्षता तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा अभियानबारे समिक्षा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । समिक्षा प्रतिवेदनमा प्रहरीले लागूऔषध विरुद्धको अभियानलाई सघन ढंगले अघि बढाएर निगरानी र कारबाहीको संख्यामा बढोत्तरी आए पनि कारोबार र प्रयोग घट्न नसकेको औंल्याइएको छ। भारतसंगको ६९ किलोमिटर खुला सिमानालाई सबैभन्दा ठूलो चुनौति मानिएको छ। अहिले नयाँ विकास भएका बस्तीहरुमा कारोबार र प्रयोग बढेको प्रहरी निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार औषधि व्यवस्था विभागसँग समन्वय गरी औषधि पसलको अनुगमनलाई तिव्रता दिइएको तथा केहीलाई कारबाही समेत गरिएको छ । प्रबक्ता डाँगीले लागूपदार्थ सेवन गरे नगरेको परीक्षण गर्ने कीट खरिद गरिएको र आगामी दिनमा परीक्षण कार्यलाई अगाडि बढाइने जानकारी दिए । डग स्टिङ कार्यक्रममार्फत पनि यो अभियानलाई अघि बढाएको प्रहरीको भनाई छ ।
लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान २०८१ अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले एक दिने मनोसामाजिक परामर्श कार्यक्रम, विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता, सचेतनामूलक होडिङ वोर्ड जडान, स्थानीय बाल क्लवहरूसँग समन्वय गरी सडक नाटक प्रदर्शन लगायतका गतिविधि सम्पन्न गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले स्थानीय सरकार लागूऔषध नियन्त्रण कार्यक्रममा प्रहरी र सम्बन्धित संघसंस्थासंग संगसंगै रहेको बताउँदै आगामी दिनमा अझ बढी प्राथमिकता दिएर सहकार्य गर्ने प्रतिबद्धता जनाए । यो अभियानमा सम्पूर्ण नगरबासीको साथ र सहयोगका लागि उनले आग्रह समेत गरे ।
प्रहरी एक्लेले गरेर नहुने हुँदा यस अभियानमा सबैबाट सहकार्यको आवश्यकतामा जोड दिइएको छ । सहकार्यमा सहयोग गरेकोमा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकालाई धन्यवाद दिएको छ । साथै त्यस कार्यक्रममा निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीलाई पुरस्कार वितरण पनि गरिएको थियो भने लागूऔषध नियन्त्रण कार्यमा सहयोग गर्ने संघसंस्थाहरूलाई सम्मान समेत गरिएको थियो । जिल्ला प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकालाई समिक्षा प्रतिवेदन हस्तान्तरण पनि गरेको छ । कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राई लगायत सरोकारवाला उपस्थित थिए ।