काठमाडौं । झापाको मेचीनगर नगरपालिका१४, दुवागढीमा कोभिड-१९ संक्रमितका लागि भन्दै नेपाली सेनाले होल्डिङ सेन्टर बनायो । सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकको स्वास्थ्य जाँच गर्न सकिने सुविधासहित २५ करोड रुपैयाँ खर्चेर बनाइएको होल्डिङ सेन्टर अहिलेसम्म प्रयोगविहीन छ ।
वडाध्यक्ष बाबुलाल सुब्बाका अनुसार, एक हजार अक्सिजन सिलिण्डरसहित २२ वटा पक्की भवनसहितको संरचना कसरी सञ्चालन गर्ने भन्ने टुंगो नहुँदा अलपत्र परेको हो । ‘त्यतिबेला महामारीको समयमा फरक प्रयोजनले यी संरचना बनेका थिए, अहिले कसरी प्रयोगमा ल्याउने भन्ने निर्णय नहुँदा भवन यत्तिकै जीर्ण बन्ने स्थिति छ’, उनले भने, ‘सेनाले पहरा दिनेबाहेक भवनमा अरु केही भएको छैन ।’
नेपाली सेनाको चारआलीस्थित श्रीनाथगणका गणपति प्रजु बस्न्यातका अनुसार, संरचनाको सुरक्षाका लागि सेनाको टोली खटिएको छ । ‘हस्तान्तरण भइनसकेकाले सुरक्षामा मात्र खटिएका हौं, यसबारे केन्द्रबाटै निर्णय भएर आउँछ होला’, उनले भने, ‘धेरै पटक यसको निरीक्षण पनि भएको छ, तर कसरी प्रयोग गर्ने भन्नेमा निर्क्यौल भइसकेको छैन भन्ने बुझेको छु ।’
वडाध्यक्ष सुब्बाका अनुसार, नेपाली सेनाको सुरक्षा घेरामा भएकाले संरचना सुरक्षित छ । ‘सेना नबसेको भए पाइप, टीन लगायत चोरी भएरै सकिन्थ्यो होला’, उनले भने, ‘तर यसरी सेनालाई कुरुवा जस्तो राखेर मात्र भएन, छिटोभन्दा छिटो प्रयोगमा ल्याउनुपर्यो ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, सल्लाघारीमा बनेको होल्डिङ सेन्टरको अवस्था पनि उस्तै छ । वडाध्यक्ष रवीन्द्र देवकोटाका अनुसार, गड्डाचौकीबाट प्रवेश गर्ने नागरिकलाई लक्षित गरेर सेनाले टीकापुर नगर विकास समितिको जग्गामा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको थियो ।
तर, अहिलेसम्म यसलाई कसरी प्रयोग गर्ने भन्ने निर्णय नहुँदा प्रयोगमा आउन सकेको छैन । ‘कोभिड–१९ भाइरसको महामारीका बेला फरक परिस्थितिमा होल्डिङ सेन्टर निर्माण भएको थियो, अहिले न यसलाई प्रदेश सरकारले जिम्मा लिएको छ, न केन्द्र वा स्थानीयले’, उनी भन्छन्, ‘यस्तोमा कुरेर बस्नेबाहेक अरु केही भएको छैन ।’
आफूले भीमदत्त नगरपालिकाको बैठकमा यसलाई प्रयोगमा ल्याउने सन्दर्भमा आवाज उठाए पनि केन्द्रको निर्णय कुरेर बसेकाले केही गर्न नसकिएको उनी बताउँछन् ।
पर्सास्थित सीमा नाकामा पनि सेनाले २८ करोड रुपैयाँ खर्चेर ६० कोठाको संरचना बनाएको थियो । १३ वटा भान्सा घर, २२ शौचालय र तीन वातानुकूलित कक्षसहित निर्माण गरिएको पर्साको होल्डिङ सेन्टरमा अहिलेसम्म बिजुली र खानेपानी समेत छैन ।
पर्साका प्रमुुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार संघ, प्रदेश वा स्थानीय तह कसले यसको स्वामित्व लिने भन्ने विषयमा निक्र्यौल नहुँदा बिजुली पनि जडान गर्न सकिएको छैन । ‘मैले यसलाई उपयोग गर्नुपर्छ भनेर निकै प्रयास गरेको थिएँ, तर धेरैले चासो दिएनन्’, उनले अनलाइनखबरसँग भने, ‘पुरानो हुँदै गएपछि भवन थप जीर्ण बन्छ, मान्छे बसेको घर टिक्छ, नभएको भत्किन्छ भनिन्छ नि ?’
अहिलेसम्म संरक्षण गर्नेबाहेक केही काम नहुँदा तत्काल प्रयोगबारे निर्णय गर्नुपर्ने स्थिति रहेको भुसाल बताउँछन्।
सरकारले २०७७ मा फैलिएको कोभिड–१९ भाइरसको महामारीको रोकथामका लागि देशका ८ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० वैशाख २०७८ मा देशवासीलाई सम्बोधन गर्दै नेपाली सेनालाई एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको भनेका थिए ।